भ्रष्टाचारको केन्द्रविन्दु बन्दै मेलम्ची नगरपालिका, घाटदेखि सडकसम्म भ्रष्टाचार

मेलम्ची । पछिल्लोचरण मेलम्ची नगरपालिकामा भ्रष्टाचार बढेको जनगुनासो आउन थालेका छन् । नगरपालिकाद्वारा सञ्चालन गरेका विभिन्न योजनाहरुमा व्यापक भ्रष्टाचार हुने गरेको स्थानीयहरुको आरोप छ । उनीहरुले मेलम्ची नगरपालिका भ्रष्टाचारमा चुर्लुम्म डुवेको गुनासा गरेका हुन् ।
मेलम्ची नगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने भनिएको कृषि अनुसन्धान ज्ञान केन्द्रको बजेट नाली सरसफाईमा खर्चिएको खुलेको छ । मेलम्ची ११ सेराफाँटमा २७ लाख बजेटमा सो केन्द्र निर्माण गर्न प्रदेश सरकारले बजेट विनियोजन गरे पनि नगरपालिकाकै सहकार्यमा उपभोक्ता समितिमार्फत नाली सफाई गरेको रहस्य खुल्न आएको हो । नगरपालिकाकै पदाधिकारीको मिलोमत्तोमा ५ लाख खर्चिएर बाँकी पैसा झ्वाम गरेको थाह हुन आएको छ ।
त्यस्तै नगरपालिकाले सञ्चालन गरेको फ्रि वाइफाई अहिले एक देशको कथामा झैं भएको छ । सांसद शेरबहादुर तामाङले संसद विकास कोषबाट रु २० लाख रुपैया उपलव्ध गराइए पनि अहिले वाईफाई त के वाइफाई राखेको घरबाट राउटरसमेत गायब भएको स्थानीयहरुको आरोप छ ।
नगरपालिकाले कालोपत्रे गर्ने भन्दै चार करोड बजेट विनियोजन गरेपनि कालोपत्रे भने हुन सकेको छैन । वडा न ६ अन्तर्गत नेपाने मानेभञ्ज्या² कालोपत्रे गर्न गत आर्थिक वर्षमा २ करोड विनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा पनि दुई करोड विनियोजन गर्यो तर कालोपत्रे भने हुन सकेको छैन् ।
वडा न ११ स्थित मेलम्ची नदीको दोसाँधमा घाट निर्माण गर्न श्रमदान गर्ने सर्त भनिए पनि ज्यालाको बीलभर्पाइ बुझाइ बजेट झ्वाम पारेको बुझिएको छ । तीस लाख रुपैया बजेट विनियोजन भएको सो घाट निर्माणमा बाँकी श्रमदानमार्फत कार्य सम्पन्न गर्नुपर्ने शर्त भएपनि श्रमदानको ज्यालासहित योजना पास भएको छ ।
करिब २८ करोड लगानीमा सुरु भएको मेलम्ची सिटीपार्कको दुईवटा ठेक्का लागेपनि काम भने ज्यूँको त्यूँ रहेको छ । करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको यो सिटीपार्क अहिले कागजमा मात्र सीमित भएको आरोप छ ।
नगरपालिकाले योजनाहरु राम्रा ल्याए पनि तीन योजनाहरु कार्यान्वयनमा कतै ढिलासुस्ती भएको त कतै आर्थिक चलखेल भएको प्रष्ट देखिएको स्थानीय दीपक देउजा बताउँछन् तर मेयर डम्बरबहादुर आर्याल भने अफवाह फैलाउनु भन्दा पनि कार्यस्थलमा गएर यथार्थ बुझ्न आग्रह गर्छन् ।

एपिवान रिर्पोटमा आधारित

सिफारिस

प्रतिकृया दिनुहोस्