मोनिका विक / चौतारा । त्यसो त जिल्लाकै प्रसिद्ध गौराति भीमेश्वरको जात्रा नजिकिँदै छ । हरेक कार्तिक पूर्णिमामा लाग्ने भीमश्वरको जात्राको बारेमा सिन्धुबासीलाई जानकारी भएपनि पूर्णिमाको अघिल्लो दिन लाग्ने अर्को जात्राको बारेमा भने थोरैलाई मात्र जानकारी होला । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपलिका वडा न ८ चिलाउनेस्थित सातकन्या कालीदेवीको मेला गौराति भीमेश्वरको मेलाभन्दा अघिल्लो साँझबाट सुरु हुन्छ । भीमसेनको दिदी अर्थात सातकन्या कालिदेवीको पूजाआजा पश्चात भीमेश्वरको पूजाआजा गरि पूर्णिमाको दिन गौराति भीमेश्वरको मेला लाग्ने गरेको बुढापाकाहरु बताउँछन् । पछिल्लोपटक स्थानीय सरकारले मन्दिर निर्माणमा चासो राख्दै बजेट विनियोजन गरेपछि अहिले सातकन्या कालीदेवीको मन्दिर चिटिक्क देखिएको मात्र छैन, श्रद्धालु भक्तजनहरुको आकर्षणको केन्द्रविन्दु पनि बनेको छ ।
मन्दिर निर्माणका लागि अँिघल्लो वर्ष मेयर अमानसिं तामाङको पहलमा मन्दिर निर्माणका लागि रकमान्तर गरि डिपिआर भएको थियो भने प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले रु दस लाख विनियोजन गर्न सहयोग गरेपछि अहिले मन्दिरको संपूर्ण संरचना तयार भई मन्दिर निर्माण कार्य सम्पन्न भएको छ । आजै मेयर तामाङले उक्त मन्दिरको निरीक्षण गर्नको साथै आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता जाहेर गरे । मेयर तामाङका साथ नेकपा वडा न ८ का अध्यक्ष रामकृष्ण दंगाल र संयोजक फुलमान तामाङ लगायतको सहभागिता रहेको थियो ।
त्यसो त बागमति प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले गत कार्तिक ९ गते यो मन्दिरको निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा मन्त्री दुलालले मन्दिरका सझावट लगायत बाँकी कार्य पुरा गर्न आफूले सहयोग गर्ने बताएका थिए । सोही दिन मन्त्री दुलालले जिल्लाको पूर्वीभेगबाट सदरमुकाम जोड्ने छोटो दुरी मेलचौर भैसे सडक निर्माण कार्यको पनि निरीक्षण गर्नुभयो । तातोपानी, बाह्रबीसे, माँखा, तौथली, ठोर्कपा, मुढे लगायत जिल्लाको पूवी भेगीय जनतालाई आवतजावतमा छोटो दुरी पर्नका साथै सहज हुने यो सडक कालोपत्रेका लागि मन्त्री दुलालले प्रतिवद्धता जाहेर गरेका थिए ।
एकातिर सडक सञ्जालको पहुँच
र अर्कोतिर सातकन्या कालिदेवीकोको मन्दिर एवम् यहाँबाट देखिन जुगल हिमालको श्रृंखलाले यो क्षेत्र धार्मीक र पर्यटकीय हिसाबले अब्बल रहेको सामाजसेवी राजेश श्रेष्ठले बताए । हामीहरु विकास निर्माणसँगै चिलाउनेलाई आन्तरिक र बाह्रय पर्यटकी गन्तव्य बनाउने अभियानमा लागेका छौं श्रेष्ठले भने ।