हातहातमै नगद पाएपछि लिदीवासी खुसी

बाँसखर्क/ प्राकृतिक विपत्तिले गाउँ नै उजाड बनेपछि सुरक्षित स्थान खोज्दै बाँसखर्क आइपुगेका जुगल गाउँपालिका लिदीका पहिरोपीडित भदौरे झरीको चिसोमा दिन कटाइरहेका छन् ।
चिसो चउरमा ठडिएका चाइनिज टेन्टको बसाई कष्टकर भएपनि सुरक्षित स्थानमा बस्न पाएकोले लिदीवासीको मन थामेको छ । पहिरोबाट बाँचेर आएका विस्थापितलाई दिनहँु जसो कुनै न कुनै संघसंस्था वा व्यक्तिले राहत पु¥याउने गरेका छन् । राहत लाने सबै संघसंस्थाले गाउँपालिका वा वडालाई जिम्मा लगाउने गरेका छन् ।
तर, शुक्रबार फरक तरिकाले राहत वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले पहिरोपीडितको हातहातमै नगद रकम वितरण गरिदिएको हो । घेदुङले २७ लाख रुपैयाँ पीडितको हातहातमै थमाएको छ । जिल्लामा बाढीपहिरोबाट प्रताडितलाई गरिएको आजसम्मको सहयोगमा यो सबैभन्दा ठूलो नगद सहयोग हो ।
तामाङ समाजको विदेशस्थित विभिन्न संगठनबाट प्राप्त २२ लाख १२ हजार र सिन्धुपाल्चोक शाखामा जम्मा भएको चार लाख ८९ हजार नगद पीडितको हातहातमा वितरण गरिएको हो । पीडितलाई सहयोग हस्तान्तरण गर्न सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङबोले चाँजोपाँजो मिलाएका हुन् ।
पहिरोमा ज्यान गुमाएका ३९ जनाको १२ घरका परिवारलाई जनही ६० हजार, पहिरोमा घर ध्वस्त भएका १७ परिवारलाई जनही २५ हजार र गाउँ छोडेका एक सय ४१ विस्थापित परिवारलाई जनही १० हजारका दरले राहत वितरण गरिएको स्याङ्बोले जानकारी दिए । एक लाख रुपैयाँ बराम्ची भीरमा घाँस काट्दा लडेर मृत्यु भएकी गर्भवती महिला सञ्चमाया तामाङको परिवारलाई सहयोग गरिएको छ । राहत संकलनका लागि पूर्वसांसद दावा तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा र नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले हरतरहले सहयोग गरेका थिए । हातहातमै नगद पाएपछि लिदीवासी खुसी भएका छन् ।
दुई हप्तादेखि चिसोमा बसिरहेका बालबच्चा, बृद्धबृद्धा र गर्भवती महिला विरामी पर्न थालेकोले नगद रकम पाउँदा खुसी लागेको उनीहरुले बताए । ‘मेरो नातिनातीना बिरामी परेका छन् । अब औषधि किनेर उपचार गर्छु,’ रकम पाएपछि खुसी हुँदै ७१ वर्षीया निजमाया दोङले भनिन् । नगद रकम पाउँदा खुसी लागेको बताउँदै फजुल खर्च नगरी नयाँ घर बनाउन जम्मा पारेर राख्ने योजना रहेको अर्का पीडित निराज तामाङले बताए । त्यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएन)का उपाध्यक्ष सोनाम लामा र एनआरएनकै बहराइन च्याप्टरका पूर्वाध्यक्ष श्याम तामाङले लिदीवासीलाई नगद सात लाख १८ हजार नगद वितरण गरेका छन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्