चीनको वुहानमा गत डिसेम्बरमा सिटी स्क्यानबाट पत्ता लागेको कोरोना संक्रमणको महामारी विश्वका सबैजसो देशमा फैलिएको छ । हालसम्म करीब २ करोड ६१ लाख ८४ हजार ५ सय १२ व्यक्ति संक्रमित भएका छन् भने करीब ९ लाख व्यक्तिको मृत्यु भएको छ ।
कोरोना महामारीको कारण संसार अहिले भाइरस विरुद्धको युद्धमा होमिएको छ । महामारी नियन्त्रण गर्न विश्वका हरेक राष्ट्रले चालेका कदमको कारण एकातर्फ स्पेनिश फ्लूको महामारीमा जस्तो ठूलो मानवीय क्षति भएको छैन भने अर्कोतर्फ आर्थिक रूपमा विश्व ठूलो संकटमा फसेको छ ।
दैनिक काम गरेर परिवार पाल्ने आममानिस कोरोना महामारीको कारण अद्वितीय संकटमा फसेका छन् । यसको पार्श्वप्रभाव स्वरूप मनोसामाजिक असर तथा ‘कन्स्पिरेसी थ्योरी’को अर्को महामारी शुरू भएको छ । कैयौं व्यक्तिहरू कोभिडको कारण श्वास फेर्न नसकेर जीवन र मरणको दोधारमा छन् भने केही व्यक्तिले चर्चामा आउने मेलो वा यूट्युबबाट कमाउने धन्दामा रातलाई दिन भनेर आफ्नो मूर्खता प्रदर्शन गरिरहेका छन् ।
‘यो महामारी होइन, बहुराष्ट्रिय कम्पनीको षड्यन्त्र हो, पीसीआर टेस्टको काम छैन …’ भन्ने लगायतका धेरै भ्रमको प्रचार शुरू भएको छ । यो प्रचारको कारण महामारीको त्रासमा रहेका व्यक्तिलाई थप संशय उत्पन्न भएको छ । यस्तो भ्रम किन र कसले फैलाएको छ भन्ने तथ्य बुझ्नु जरुरी छ । बहुराष्ट्रिय कम्पनीले अहिले एकाध डाक्टर (?) तथा जनस्वास्थ्य नबुझेका व्यक्तिलाई प्रयोग गरेर अनेक पुस्तक तथा पर्चा छपाएका छन् । उनीहरूले आफ्नो मार्केटिङ टीमलाई अनेक भ्रमका काल्पनिक प्रमाण पेश गरेर ‘ब्रेन वास’ गर्ने प्रयास गरेका छन् र यसमा केही हदसम्म सफल पनि भएका छन् । यो भ्रमको कारण उनीहरूको कम्पनीमा काम गर्ने मजदुरलाई मास्क तथा स्यानिटाइजर दिनुपरेको छैन । व्यक्तिगत दूरीको कारण उत्पादन क्षमतामा असर पर्ने भएकाले उनीहरूले यो पालना गर्नु पर्दैन भनेका छन् । उनीहरूले बजार प्रतिनिधिलाई समेत कोरोना सामान्य रुघाखोकी मात्र हो भनेर काममा लगाएका छन् । यो तथ्य हामीले बुझ्न जरुरी छ । यो ‘कन्स्पिरेसी थ्योरी’ले कसैलाई फाइदा गरेको छ भने बहुराष्ट्रिय कम्पनीलाई फाइदा गरेको छ ।