काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उहाँलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले राष्ट्रपति भवनमा शपथ लिनुअघि आफूलाई खादा लिएर बधाई दिन नआउन र मन्त्री नभन्न सामाजिक सञ्जालमार्फत अपिल गरेकाले खादा, माला र फूलबाट स्वागत गर्न मन्त्रालयका कर्मचारीहरू हच्किएका थिए । तथापि, फूलका केही गुच्छा र एउटा रुद्राक्षको माला लिएर कर्मचारीहरू स्वागतका लागि मन्त्रालय परिसरमा उभिएका थिए ।
आज सार्वजनिक बिदा भएकाले कर्मचारीको भिडभाड थिएन । पानी परेकाले कर्मचारी र सञ्चारकर्मीहरू परिसरको ओत लाग्ने ठाउँमा बसेका थिए । मन्त्री पुनभन्दा केही मिनेट अगाडि शपथ ग्रहण कार्यक्रमबाट केशर महल आएका मन्त्रालयका सचिवहरूका हातमा अरू कर्मचारीले मन्त्रीलाई स्वागतका लागि पुष्प गुच्छा दिए । एकछिन पछि मुस्कानसहित एक हात हल्लाउँदै मन्त्री पुन मन्त्रालय छिर्नुभयो । उहाँले रातो रङ्गको गलबन्दी जस्तो खादा लगाएकाले रुद्राक्षको माला लगाइदिन कर्मचारीलाई केही सजिलो भएको देखिन्थ्यो ।
केशरमहलस्थित मन्त्रालयमा पद बहालीसँगै मन्त्री पुनले विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चार वटा सल्लाहकार समिति गठन कार्यादेश समावेश गरिएको प्रस्ताव स्वीकृत गर्नुभयो । समितिका लागि समिति बनाउन नहुने र समितिमा राखिएकाहरूले साँच्चिकै निस्वार्थ भएर योगदान दिनुपर्ने उहाँको जोड थियो । यसका लागि बजेट पनि आवश्यक हुने भन्दै उहाँले चासो राख्नुभएको थियो । तत्पश्चात् मन्त्रालयका विभागीय प्रमुखलाई निर्देशन दिँदै मन्त्री पुनले युवा पुस्ताको चाहनाबमोजिम नयाँ एवं सुधारका काममा सुझाव दिन विज्ञ र कर्मचारीलाई आग्रह गर्नुभयो ।
