चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र आसपासका उपभोक्ताहरुले आजबाट स्वच्छ एवम् गुणस्तरिय खानेपानी पिउन पाउने भएका छन् ।

आम उपभोक्तालाई खानेपानी व्यवस्थापन र वितरण गर्दै आएको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाई समितिले आजबाट गुणस्तरी खानेपानी प्रशोधन केन्द्र ( ट्रिटमेन्ट प्लान्ट ) सञ्चालनमा ल्याएपछि उपभोक्ताहरुले गुणस्तरिय एवम् स्वच्छ खानेपानी पिउन पाउने भएका हुन् ।

यसअघि मूलबाट ल्याइएको पानीलाई सिधै दारेगौडास्थित ट्याँकीमा झारेर उपभोक्तालाई वितरण गर्दै आएको थियो । अहिले भने प्रशोधन भएर त्यही पानी उपभोक्ताको घरघरमा पुग्नेछ ।

प्रशोधन केन्द्रको खानेपानी मन्त्री प्रदीप यादवले आजै उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री यादवले खानेपानी योजनाका लागि जनताले तीसप्रतिशत रकम सहलगानी गर्नुपर्ने वाध्यताको अन्त्य गरिने बताउनु भएको छ ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित गुणस्तरी खानेपानी प्रशोधन केन्द्र ( ट्रिटमेन्ट प्लान्ट ) को विहीबार उद्घाटनपछिको सम्वोधनमा मन्त्री यादवले खानेपानी जस्तो अत्यावश्यक चिजमा जनतालाई तीस प्रतिशत रकम ब्यहोर्न लगाउनु गलत भएको बताउनुभयो । उहाँले खरवौंको सडक बनाउँदा सरकारले जनतासँग एक रुपैयाँ पनि अशुल नगर्ने तर खानेपानी आयोजनाका लागि भने सरकारले ७० प्रतिशत मात्र लगानी गर्दै जनतालाई ३० प्रतिशत सहलगानी गराउनु न्यायसंगत नभएको बताउनुभयो । उहाँले खानेपानी आयोजनाका लागि तीसप्रतिशत सहलगानीको निर्देशिका खारेजीका लागि विज्ञसमूहसँग परामर्श हुँदै गरेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले सरकारले छिट्टै नै जनताको पानी सरकारको लगानी कार्यक्रम ल्याउन लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो यो कार्यक्रम अन्तर्गत जनताको पानी हुनेछ,मूहान हुनेछ त्यसको उपभोग र संरक्षणको दायित्व जनताबाट हुनेछ भने सरकारको सय प्रतिशत लगानी हुनेछ । पानीको देश भनेर चिनिएको मूलुकका जनताले पानी निशुल्क उपभोग गर्नु पाउनु पर्ने तर्क अघि सार्दै मन्त्री यादवले खानेपानीलाई जनताको मौलिक हकको रुपमा स्थापित गर्न पनि मन्त्रालय अहोरात्र खटिरहेको जानकारी दिनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भक्तपुरबाट ६ करोड २५ लाख लगानीमा निर्माण भएको प्रशोधन केन्द्रमा प्रतिसेकेण्ड २५ लिटर पानी प्रशोधन हुने आयोजनाका प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सदरमुकाम चौतारा लगायत आसपासका वस्ती गरि झण्डै १४ सय भन्दा बढी घरधुरीका उपभोक्ताले प्रशोधन केन्द्रको पानी उपभोग गर्ने जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रम समितिका सचिव श्यामकृष्ण श्रेष्ठको सञ्चालनमा भएको थियो । समितिका अध्यक्ष एवम् पूर्व सांसद सुभाष कर्माचार्यको सभापात्वमा भएको कार्यक्रममा स्वागत समितिका कोषाध्यक्ष टक कार्कीले गर्नुभएको थियो भने कार्यक्रममा समितिलाई जग्गादान र अन्य सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ का वडा अध्यक्ष हेमबहादुर तामाङ लगायतलाई सम्मान गरेको थियो ।
