चौतारा, ६ असार, २०८१ । आपसी समन्वय, सदभाव र मित्रतालाई प्रगाढ बनाउनका लागि भोलि शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा मैत्रीपूर्ण फूटबल प्रतियोगिता हुने भएको छ ।
छोटो अवधिमा नै समाजिक क्षेत्रमा बेगल पहिचान बनाउन सफल लायन्स क्लब अफ काठमाण्डौं सिन्धु चौतारा सिटीले आयोजक रहेको प्रतियोगितामा १० टीमको सहभागिता रहेको छ ।
क्लबका अध्यक्ष सन्देश श्रेष्ठका अनुसार विहान ७ः३० बजेबाट स्थानीय टुँडिखेलमा प्रतियोगिता सुुरु हुने छ । सुरुवाती खेल आयोजक टीम र बैंकर्सबीच हुनेछ । दुबै टिमका खेलाडीहरु उम्दा भएका कारण सुरुवाती खेल वडो रोमाञ्चक हुने बताइएको छ । आयोजक लायन्स क्लब गत वर्षको विजयी टिमसमेत हो । यो प्रतियोगिताबाट विजयी टिमले दिउँसो ३ः३० बजे चौतारा साँगाचोकगढी नगरपालिकाका कर्मचारीसँग भिड्नेछ ।

त्यस्तै शुक्रबार ८ः३० बजे कर्मचारी मिलन केन्द्र र शिक्षक महासंघबीच भिडन्त हुनेछ । यो खेलबाट विजयी टिमले दिउँसो ४ः३० बजे रोयल फेमेली चौतारासँगे भिड्नेछ । नेपाल पत्रकार महासंघ र सिन्धु इञ्जिनियरिङ सोसाइटीबीचको खेल भने शुक्रबार विहान ९ः३० बजे हुनेछ । विहाना १०ः३० मा चौथो खेल मेलचौर युवा जागरण र चौतारा स्पार्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।
शनिबार विहान ७ः३० बजे बी पोलबाट विजयी दुई टीम र ८ः३० बजे ए पोलबाट विजयी दुई टिमबीच सेमीफाइनलमा भिडन्त हुनेछ । शनिबार नै दिउँसो ३ः३० बजे उपाधीका लागि महाभिडन्त हुनेछ ।
सिन्धुपाल्चोकमा धेरैपटक मैत्रीपूर्ण फूटबल प्रतियोगिता भए पनि यो खेलको बेगल पहिचान हुने आयोजकको विश्वास छ । यसअघि जुनसुकै उमेरसमहूले खेल्न पाउने भएपनि यो प्रतियोगितामा भने ३० वर्ष माथिकाले मात्र खेल्न पाउने नियम बनाइएको छ । खेललाई अनुशासित र नियमसंगतरुपमा सञ्चालनका लागि आयोजक कटिवद्ध रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । हामीले सबैको नागरिकताको प्रतिलिपि पनि संकलन गरिसकेका छौं, नागरिकता अनुसार कुनै टिमले ३० वर्षमूनीका खेलाडी सहभागि गराएको रहेछ भने टिम सोझै बर्खास्त गरिने अध्यक्ष श्रेष्ठको भनाइछ । खेल मैत्रीपूर्ण हो र फेरि पनि मैत्रीपूर्ण खेलको नाममा नियम र अनुशान उलङ्गन गर्ने छुट कसैलाई छैन उहाँले भन्नुभयो ।