बालबालिकाहरु ब्याडमिन्टन खेलाडी बन्न हौसिए, सुरु भयो प्रशिक्षण
चौतारा । चौतारामा ३ महिने ब्याडमिन्टन खेल सम्बन्धी प्रशिक्षण सुरु भएको छ ।
ब्याडमिन्टन खेलको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धनसँगै विस्तार गर्ने उदेश्यले सुरु भएको प्रशिक्षणको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गर्नुभयो ।
झण्डै ६० जना बालबालिकाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रम ३ महिनापछि पनि निरन्तर चलिरहने आयोजक संस्था चौतारा ब्याडमिन्टन एकेडेमी चौताराका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रशिक्षण कार्यक्रमको मेयर सापकोटाले अध्यक्ष श्रेष्ठलाई खेल सामाग्री हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको हो ।
वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघ सिन्धुपाल्चोकका अध्यक्ष सुवर्णलाल श्रेष्ठ र नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठले सम्बोधन गर्नुभएको कार्यक्रममा ब्याडमिन्टन संघ सिन्धुपाल्चोकका अध्यक्ष सुवर्णलाल श्रेष्ठले र्याकेट, कक लगायतका खेल सामाग्री एकेडेमी अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रम चौतारा स्पोर्टिङ क्लबका सचिव राकेश रानाले सञ्चालन गर्नु भएको थियो ।