वेदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको अवस्था बारे सरोकारवालाको चासो

वेदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको अवस्था बारे सरोकारवालाको चासो

चौतारा । बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको समस्या बढ्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शुक्रबार बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन ः एकीकरण कार्यक्रम – २०७९ को प्रभावकारी, समावेशी र दीगो कार्यान्वयन विषयक एक अन्तरकृयात्मक कार्यक्रममा उनीहरुले बैदेशिक रोजगारीबाट फर्केका महिलाहरुको समस्या र आर्थिक विकासका लागि स्थानीय सरकार मौन रहेको प्रति दुखेसो व्यक्त गरे ।
एकातिर वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन ः एकीकरण कार्यक्रम २०७९ कार्यान्वयनमा स्थानीय सरकार उदासिनता रहेको र अर्कोतिर विदेशबाट फर्किएका आदिवासी जनजाति महिलाहरुमा सामाजिक, आर्थिक र मानसिक समस्या बढ्दै गएको उनीहरुले निचोड सुनाए ।
बैदेशिक रोजगारीबाट फर्किएका आदिवासी जनजाति महिलाहरुको सशक्तिकरणका लागि कार्य गर्दै आएको र आयोजक संस्था राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी अध्यक्ष माला राइले पुन एकीकरण कार्यक्रम २०७९ लाई मुख्य एजेण्डाको रुपमा स्थानीय सरकारसँग प्रस्तुत गर्नुपर्ने धारणा राखिन् । उनले देशको आर्थिक विकासमा प्रवासी महिलाहरुको महत्वपूर्ण सामाजिक आर्थिक योगदानको बाबजुद पनि विघटित तथ्याङ्कको अभाव रहेको उल्लेख गरिन् । तथ्याङ्क अभावकै कारण आप्रवासीहरुका लागि समावेशी नीतिहरु निर्माण नभएको उनको गुनासो गरिन ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुमा सामाजिक र मानसिक समस्या बढ्न थालेको प्रति चासो दिंदै निराकरण का लागि सबै पक्ष समयमै सचेत हुनुपर्ने बताए । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका कार्यपालिका सदस्य सानुमाया गुरुङ, नेवा दे दबुका केन्द्रीय सचिव हरि श्रेष्ठ, आदिवासी जनजाति महिला महासंघका अध्यक्ष रीना श्रेष्ठ, मानव अधिकारकर्मी नातिबाबु धिताल, अर्जुन शर्मा, सामी प्रतिनिधिले समस्या समाधानार्थ सुझाए ।
अडानपत्रमार्फत चौतारा साँगाचोकगढी नगरपालिकालाई ध्यानाकृष्ट गर्नका लागि आयोजित कार्यक्रममा विदेशबाट फर्किएका आदिबासी जनजाति महिलाहरुको बाक्लै उपस्थिति रहेको थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्