चौतारामा डिजिटल पत्रकारिता तालिम सुरु

चौतारामा डिजिटल पत्रकारिता तालिम सुरु
चौतारा । बढ्दो पत्रकारिताको आयामलाई आत्मसात गर्दै सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ ।


कञ्चन स्मृति साहित्य प्रतिष्ठानद्वारा आयोजित ३ दिने डिजिटल पत्रकारिता तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले गर्नुभयो ।


सो अवसरमा उहाँले सञ्चारकर्मीहरु सकेसम्म हरेक कुरामा अपडेट हुँदै समय सापेक्ष आफ्ना सीप र क्षमतालाई पनि अपग्रेड गर्दै जानुपर्ने आवश्यकतालाई औल्याउनुभयो ।

डिजिटल पत्रकारिताका कारण अहिले कुनै पनि पत्रकार कुनै पनि भूगोलमा मात्र सीमित नभइ सिंगो संसारकै पत्रकारको रुपमा स्थापित हुँदै गएको बताउँदै अध्यक्ष श्रेष्ठले आफूले सिकेको ज्ञान र सीपको सही तरिकाले प्रयोग गर्न आग्रह गर्नुभयो ।


सञ्चारकर्मी निर्मल बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष सुरेशराम कसजूले गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य ज्ञानेन्द्र तिमल्सिना, सचिव विदुर आचार्य, प्रेस युनियन सिन्धुपाल्चोकका अध्यक्ष किशोर बुढाथोकी, प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीष लगायतका सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।


३ दिनसम्म चल्ने तालिमको प्रशिक्षक रविन श्रेष्ठ, विनय बजगाई र सुन्दर शिरीष लगायतका रहेका छन् भने ३३ जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।

सिफारिस

प्रतिकृया दिनुहोस्