सीमा सुरक्षा बैठकमा नाका सहज सञ्चालनका लागि अनुरोध

सीमा सुरक्षा बैठकमा नाका सहज सञ्चालनका लागि अनुरोध

तातोपानी नाका सहज र सरलरुपमा सञ्चालन गर्नका लागि नेपाली अधिकारीहरुले चिनियाँ अधिकारीहरुलाई अनुरोध गरेका छन् ।

उत्तरी तातोपानी नाकास्थित मितेरी पुलमा शनिबार बसेको बैठकमा नाका सहज र सबैका लागि खुल्ला गर्नका लागि नेपाली सुरक्षाकर्मीहरुले चिनियाँ सुरक्षाकर्मीहरुलाई अनुरोध गरेका हुन् ।


नेपाली सुरक्षाकर्मीहरुले नाका सहज सञ्चालन हुनुपर्ने, खासा बजारमा नेपालीको पहुँच पु¥याउनु पर्ने, पर्यटकीय एवम् धार्मीक स्थल मानसरोवरमा पर्यटकका लागि यो नाका खुल्ला गरिनु पर्ने र बाह्रविसेदेखि नाकासम्मको सडक स्तरोन्नतिका लागि चीन सरकारले सहयोग गर्नुपर्ने लगायतका अनुरोध गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले बताए ।

भेटबार्तामा आफूहरुले गरेका अनुरोधलाई चिनियाँ सुरक्षाकर्मीहरुले सकारात्मकरुपमा लिँदै आफ्ना उच्च अधिकारीहरुलाई अनुरोध गर्ने प्रतिवद्धता जनाएको पनि प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

नेपालकातर्फबाट प्रमुख जिल्ला अधिकारी आचार्य, एसपी सन्तोष खड्का, सशस्त्र प्रहरी बलका प्रमुख राजेश्वर पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख राजन प्रजापति तातापानी अध्यागमनका प्रमुख सुरेश खतिवडा, कोदारी प्रहरी प्रमुख प्रकाश रेग्मी, बाह्रबीसे प्रहरी प्रमुख देवेन्द्रराज जोशी कोदारी शसस्त्र प्रहरी बलका प्रमुख र चिनका तर्फबाट डेपुटी स्टेशन मास्टर वाङ ह्यामिङ, नेलाम इमिगे्रशन इन्स्पेक्शन स्टेशनका झो जि विन लगायतका सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।


भेटबार्तामा नेपाल चीनबीचको सीमा सुरक्षा, अवैध आवतजावत, निकासी पैठारीका बारेमा छलफल भएको र भेटबार्ता फलदायी रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

सिफारिस

प्रतिकृया दिनुहोस्