यदपी मैत्रीपूर्ण खेल भएको कारण यस्ता विषयलाई इसु बनाउने नहुने उपमेयर सीता थापा बताउनु हुन्छ ।
चौतारा । जनप्रतिनिधिहरुले नक्कली खेलाडी घुसपैठ गरेको थाह भएपछि कर्मचारीहरुले आपत्ति जनाएका छन् । चौतारामा जारी महिला फूटबल प्रतियोगितामा महिला जनप्रतिधिहरुले जनप्रतिनिधि भन्दै ३ जना छात्रालाई खेलमा सहभागि गराएपछि उनीहरुले खेल बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
आइतबार चौतारा साँगाचोेकगढी नगरपालिकाका जनप्रतिनिधि र नगरपालिकै कर्मचारीबीच भिडन्त भएको थियो । ३० मिनेटको निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा २ गोलको विरुद्ध ३ गोल गर्दै जनप्रतिनिधि विजयी भएपछि कर्मचारीहरुले नक्कली जनप्रतिनिधि प्रतियोगितामा सहभागि गराइएको भन्दै लफडा गरेका थियो । उनीहरुले जनप्रतिनिधिको समूहलाई कारबाही हुनुपर्ने माग राखे पनि कारबाही नहुने भएपछि भोलि सोमबार तृतीय स्थानका लागि हुने प्रतियोगिता आफूहरुद्वारा बहिष्कार गर्ने घोषणा गरेका हुन् ।
नगर महिला सञ्जालद्वारा आयोजित मैत्रीपूर्ण खेलमा गैर जनप्रतिनिधिहरु सहभागी गराइएको भन्दै उनीहरुले एक हस्तलिखित विज्ञप्तिमार्फत बाँकी खेल नखेल्ने घोषणा गरेका हुन् । १२ जना खेलाडिहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा खेल नियम अनुसार खेलाउन पनि सचेत गराइएको छ ।
त्यसो त खेलाडी अभावका कारण शिक्षिका, पत्रकार र वित्तीय संस्थाको समूहले पनि पेशासँग आवद्ध नभएकाहरुलाई खेलमा सहभागि गराइएको आरोप छ । यदपी मैत्रीपूर्ण खेल भएको कारण यस्ता विषयलाई इसु बनाउने नहुने उपमेयर सीता थापा बताउनु हुन्छ । मैत्रीपूर्ण खेल भएका कारण वाध्यता र परिस्थितिलाई बुझेर आपसी मित्रतालाई अझ प्रगाढ बनाउनुपर्ने उपमेयर थापाले बताउनुभयो । यो खेल हार र जीतसँग भन्दा पनि मित्रवत व्यवहारलाई संस्कारको रुपमा विकास गर्न टेवा पुग्नेछ – उपमेयर थपाले भन्नुभयो ।
मैत्रीपूर्ण खेललाई मैत्रीपूर्ण बनाउनुको विकल्प नभएको सञ्जालकी सचिव तारादेवी राना बताउनु हुन्छ । यो सदभावको खेल भएको कारण यसलाई प्रतिष्ठासँग जोडिएर हेर्न नहुने उहाँको तर्क छ । जीत्दैमा प्रतिष्ठा बढ्ने र हार्दैमा प्रतिष्ठा गुम्ने नभई सिंगो महिला जातिकै प्रतिष्ठा र फूटबल खेलमा महिला पहुँच बढाउनका लागि आयोजित खेलमा कर्मचारीहरुलाई भोलिको खेलमा सहभागि हुन उहाँले आग्रह गर्नु भयो । ठीकै छ गैर खेलाडीलाई संलग्न गरिएको छ भने हामी आपसी छलफलद्वारा टुंगोमा पुग्न सक्छौं तर खेलै छोडेर हिड्नुले राम्रो संकेत दिंदैन – रानाले भन्नुभयो ।