राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कार दिने मेयर सापकोटाको घोषणा
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका खेलकूद विकास समितिले चौतारा साँगाचोकगढी नगरपालिकालाई शिल्ड तथा ट्रफी हस्तान्तरण गरेको छ ।

जिल्ला खेलकूद विकास समिति सिन्धुपाल्चोकद्वारा आयोजित दसौं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चौतारा साँगाचाकगढी नगरपालिकाले ४१ स्वर्णपदकसहित प्रथम हुन सफल भएको थियो ।

प्रतियोगितामा प्राप्त शिल्ड तथा ट्रफी सोमबार प्रशिक्षक एवम् समितिका प्रतिनिधिहरुले नगर प्रमुख कृष्णप्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

सुवर्णलाल श्रेष्ठ, प्रकाश दंगाल, रमेश गुरुङ, सविन दंगाल लगायतका प्रशिक्षक एवम् समितिका प्रतिनिधिहरुले नगरप्रमुख सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख सापकोटाले उपाधि जितेर खेलाडीहरुले सिंगो नगरपालिकाको शीर उच्च बनाएको बताउनुभयो ।

उहाँले उपाधि जितेर नगरबासीलाई खेलाडीहरुले गौरावान्वित तुल्याएको भन्दै स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई जनही क्रमश ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गर्ने पनि घोषणा गर्नुभयो ।

समितिका अध्यक्ष अमृतमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर सल्लाकार चन्द्र सापकोटा, नगर शिक्षा प्रमुख पुष्पराज ढकाल, वडा १३ का वडा अध्यक्ष रामप्रसाद गौतम, वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, प्रशिक्षक र खेलाडीहरुको बाक्लै उपस्थिति रहेको थियो ।

कार्यक्रम समितिका सचिव अशोक पराजुलिले गर्नुभएको थियो ।

