आयुर्वेद स्वास्थ्य केन्द्र चौतारामा भोलिबाट मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन हुने चौतारा

चौतारा । जिल्ला सदरमुकाम स्थित आयुर्वेद स्वास्थ्य केन्द्र चौतारामा भोलिबाट मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ । नसर्ने रोग खास गरी मुटु तथा रक्तनली, दम,मधुमेह क्यान्सर र सोबाट हुने मृत्युदर हटाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो।

भोलि मंगलबारदेखि सुरु हुने यो कार्यक्रम हरेक मंगलबार बिहान ८ बजेदेखि स्वास्थ्य केन्द्रमा यो कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले गर्नुहुने केन्द्रकी प्रमुख एवम् डाक्टर अन्जु कार्कीले जानकारी दिनुभयो । बागमती प्रदेशमा स्वस्थ व्यक्तिमा नसर्ने रोगहरू र तिनका जोखिमहरू समयमा नै पहिचान गरी उचित परामर्श, स्वस्थ व्यवहार, परीक्षण, निदान र उपचार गरी ती नसर्ने रोगहरू जटिल हुन नदिनका लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ । केन्द्रले रोगको रोकथाम नियन्त्रण न्यूनीकरण निदान र उपचारमा आर्थिक सहायता तथा सहुलियत दिने र सहजीकरण व्यवस्थित गर्ने जनाइएको छ। साथै केन्द्रले फिजियोथेरापी लगायतका सेवाहरुलाई पनि नियमित गर्दै आइरहेको छ

आयुर्वेद सेवा प्रवद्र्धन गर्दै जिल्ला आयुर्वेद

चौतारा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आयुर्वेद सेवा प्रवद्र्धन गर्नका लागि केन्द्रले सोमबार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले कार्यक्रमको उद्घाटन गर्दै आयुर्वेद उपचार पद्धति महत्वलार्ई सेवाग्राहीले बुझन नसक्दा यो सेवा ओझलमा परेको बताउनुभयो । उहाँले आधुनिक चिकित्स पद्धतिप्रति सेवाग्राही जुन एकोहोरो विश्वासको मनोविज्ञान रहेको छ, त्यसलाई चिर्दै आयुर्वेद उपचार पद्धतिको महत्व दर्शान पत्रकारहरुको भूमिका आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।


नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले आयुर्वेद उपचार पद्धतिप्रति सरकारले देखाएको उदासिनताका कारण पनि यो पद्धति ओझलमा परेको बताउनुभयो ।
केन्द्रका प्रमुख डा अञ्जु कार्कीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दे उपचारका विधिहरु, जिल्लास्थित आयुर्वेद संस्थाको अवस्था र परिचय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा प्रदान गरिने सेवा लगायतको विषयमा प्रकाश पार्नुभयो । उहाँले प्रतिदिन ३५ जना सेवाग्राहीले दैनिक सेवा लिइरहेको जानकारी दिंदै सञ्चारकर्मीहरुसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता पनि जाहेर गर्नुभयो । बरिष्ठ कविराज श्रीराम पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन रविन्द्रप्रसाद भट्टराइले गर्नु भएको थियो ।

योग शिविर चल्दै, अस्पतालको माग बढ्दै

चौतारामा आयुर्वेद अस्पताल सञ्चालनको आवश्यक्ता सम्वन्धि सञ्चारकर्मीहरुले आवाज उठाएका छन् । उनीहरु आयुर्वेद स्वास्थ्य केन्द्रलाई विस्तारित गर्दै जिल्लामा नमुनाको आयुर्वेद अस्पताल सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
आयुर्वेद अस्पाताल सञ्चालनका लागि आफूहरु लागि परे पनि जग्गा अभावका कारण अस्पताल निर्माण कार्ययोजना अगाडि बढ्न नसकेको केन्द्रकी डा. अञ्जु कार्कीले बतानुभयो । उहाँले अस्पतालको लागि डिपिआर तयार भइसकेको र करिव ५ रोपणी जग्गाको आवश्यकता रहेको बताउनुभयो । जग्गा पाएको खण्डमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल बन्नेछ उहाँले भन्नुभयो बरु जग्गाका लागि पहल गरिदिनुहोस । अस्पताल बन्नु सुखद हुने बताउँदै जग्गा खोजिका लागि पहल गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले प्रतिवद्धता जाहेर गर्नुभयो ।


यता गत वर्षदेखि सञ्चालनमा आएको योग शिविरमा सबैलाई सहभागि हुन पनि डा कार्कीले अनुरोध गर्नुभयो । हाल चौतारास्थित नेपाली काँग्रेसको भवन सञ्चालन हुँदै आएको शिविरमा दैनिक ३० जना सहभागि हुँदै आएको उहाँले जानकारी दिनुभयो । त्यस्तै भोलि मंगलबारबाट सञ्चालन हुने मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममा सहभागि हुन पनि डा कार्कीले आग्रह गर्नुभयो । हरेक मंगलबार विहान ८ बजेबाट सो कार्यक्रम सुरु हुनेछ । कार्यक्रम अन्तर्गत २९ वर्ष माथिका व्यक्तिमा नसर्ने रोगहरु र तिनको जोखिमहरु समयमा नै पहिचान गरि उचित परामर्श, स्वास्थ व्यवहार, परीक्षण, निदानर उपचार गरिने स्वास्थ्य केन्द्रले जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्