सुप्रिन्स कसजू /चौतारा । विगत लामो समयदेखि राप्रपाबाट राजनीति गर्दै आएका संसार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरेका छन् ।
२०४८ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकसँग आवद्ध रहँदै आएका श्रेष्ठले आइतबार सो पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनाामा दिएका हुन् ।
राप्रपा जिल्ला सदस्य रहेका श्रेष्ठले संस्थागत भन्दा पनि पार्टीमा व्यक्तिगत स्वार्थको हावि भएको, राष्ट्रिय समस्या निकासका लागि पार्टीले कुनै भूमिका निर्वाह गर्न नसकेको र ढुलमूले नीति लिएको कारण आफूले पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनामा गरेको बताए ।
६ पटकसम्म महाधिवेशन प्रतिनिधि र दुईपटक जिल्ला सचिवको समेत जिम्मेवारी बहन गरिसकेका श्रेष्ठ पछिल्लोपटक भने जिल्ला कार्य समितिमा निर्वाचित सदस्यको रुपमा रहेका थिए । हाललाई अन्य पार्टीमा प्रवेश नगर्ने र स्वतन्त्र नागरिककोको रुपमा समाजसेवामा समर्पित रहने श्रेष्ठले बताए ।
द्वन्द्वकालिन अवस्थामा पनि राप्रपामा आवद्ध रही निष्ठाका साथ पार्टीमा सकृय श्रेष्ठ सिन्धुपाल्चोक चौताराका एक शसक्त नेताको रुपमा चिनिन्छ । खासगरि पछिल्लोपटक राप्रपाका बरिष्ठ नेता पशुपति शम्सेर जबराको एकलौटी हस्तक्षेपका कारण उनी असन्तुष्ट बन्दै आएका थिए । पछिल्लोपटक केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङदेल आएपछि उनमा केही आशा पलाएको थियो तर लिङदेलको चाल पनि ल्याङल्याङ भएपछि उनले पार्टी छोड्न वाध्य भएको बताए ।