भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै चौतारा

भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै चौतारा

चन्द्रकला खत्री

काठमाडौँ- आफ्‍नो नगरभित्रका निर्माण कार्यका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले थुप्रै कामहरू अघि बढाएको छ । नयाँ सडक बनाउनेदेखि सडक कालोपत्रे गर्नका नगरपालिकाले काम गरिरहेको छ ।

नगरपालिकाले गौरवको आयोजनामा पनि हात हालेको छ । त्यसैगरी मन्दिर, गुम्बा, शहिद स्मृति पार्कलगायत निर्माणका लागि काम गरिरहेको नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले जानकारी दिए ।

‘चौतारा नगरवासीको हितका लागि हामीले भौतिक पूर्वाधारमा ध्यान दिइरहेका छौँ’ नगर प्रमुख सापकोटाले भने ‘यहाँका जनतालाई सहजताका लागि हामीले काम गरिरहेका छौँ । कतिपय टोलमा हामीले बाटो निर्माण गरेका छौँ । सुरुमा बाटोको अभाव हुन्छ त्यसपछि पक्कि सडकको अभाव हुन्छ त्यसैले कतिपय ठाउँमा कालोपत्रे पनि भइरहेको छ ।’

यहाँका सबै वडावासीले खानेपानी उपभोग गर्न पाएका छन् । तर शुद्ध खानेपानीको अभाव भने छ । त्यसोत यहाँ सामुदायिक विद्यालय, निजी विद्यालयहरू तथा क्याम्पस रहे पनि प्रभावकारी उच्च शिक्षाको लागि यहाँका वासिन्दा काठमाडौँ जानेक्रम भने घटेको छैन् ।

नगरपालिकाभित्र प्राय सबै बस्तीहरुलाई लक्षित गरी जिल्ला अस्पताल १, जिल्ला स्वास्थ्य कार्यालय १, स्वास्थ्य चौकी २, उपस्वास्थ्य चौकी ७, आयुर्वेद औषधालय १ रहेका छन् । तर प्रभावकारी उपचारका लागि यहाँका मानिसहरू काभ्रेको धुलिखेल, काठमाडौँलगायत ठाउँमा जाने गरेका छन् ।

त्यसोत सदरमुकाम चौतारामा मिनि रंगशाला बन्दैछ । २०७६ सालदेखि निर्माण थालिएको मिनि रंगशालामा धमाधम काम भइरहेको छ । गिरी कन्सट्रक्सनले ४१ करोड ६२ लाखमा लिएको ठेक्का तीन वर्षमा सक्ने सम्झौता थियो । तर पाँच वर्षवित्दा पनि निर्माण कार्य सकिएको छैन ।

यहाँका सबै वडावासीले खानेपानी उपभोग गर्न पाएका छन् । तर शुद्ध खानेपानीको अभाव भने छ । त्यसोत यहाँ सामुदायिक विद्यालय, निजी विद्यालयहरू तथा क्याम्पस रहे पनि प्रभावकारी उच्च शिक्षाको लागि यहाँका वासिन्दा काठमाडौँ जानेक्रम भने घटेको छैन् ।

नगरपालिकाको छेवैमा रहेको उक्त रंगशालामा ६ हजार दर्शक अटाउन मिल्ने प्याराफिट निर्माण हुनेछ । त्यस्तै रंगशालाभित्र करिब पाँच सय सवारी साधन पार्किङ गर्न सकिनेछ । चौताराको बजार क्षेत्रमा पार्किङस्थलको अभाव भइरहेको अवस्थामा रंगशाला निर्माण सकिएपछि नगरपालिकाले सहकार्य गरेर पार्किङलाई सहज बनाउन सकिन्छ ।

चौतारा नगरले नगर गौरवको योजनाको रुपमा रहेको वडा नं. ४ स्थित कुविण्डेमा एउटा शित भण्डार निर्माणका लागि शुभारम्भ गरिसकेको छ । त्यस्तै वडा नम्बर ६ मा रहेको चौताराको पर्यटकीयस्थल बुद्धपार्कको बाँकी कार्य सम्पन्न गर्न बजेट सुनिश्चित गरेको जनाएको छ ।

वडा नम्बर ३ को कुविण्डे खोलामा पक्की पुल निर्माण कार्य सञ्चालनमा रहेको छ भने जोखिमयुक्त स्थानमा ११६० वटा तारजाली प्रयोग गरी भू संरक्षण गरिएको बताएको छ । त्यसैगरी सिँढी/गोरेटोबाटो ४८४९ मिटर निर्माण कार्य गरिएको छ ।

एउटा खेलमैदान, एउटा ट्रस पुल र एउटा झोलुङ्गे पुल निर्माण कार्य सकिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले माटो सडक (नयाँ ट्र्याक) २०.१० किलोमिटर निर्माण कार्य गरेको छ । त्यस्तै ३१० किलोमिटर. सडक स्तरोन्नती गरेको छ भने २.१५ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

नगरपालिकाभित्रका ५९ वटा सामुदायिक भवनको निर्माण र मर्मत गरेको छ ।

चौतारामा प्राय सबै जातजातिको बसोबास छ । उनीहरूको आ-आफ्नै धर्म छन् । त्यसलाई मध्यनजर गरेर नगरपालिकाले २९ वटा मन्दिरको मर्मत गरेको जनाएको छ । त्यस्तै नगरपालिकाले पाँच वटा छुर्तेन पनि निर्माण गरेको छ ।

वडा नम्बर ५ को पुरानो बजारस्थित कृष्ण मन्दिर पनि निर्माण भइरहेको छ । पुरातत्व विभागको सहयोगमा निर्माण कार्य भई रहेको हो ।

त्यस्तै वडा नम्बर १३ स्थित ठूलोसिरुवारीको नर्सिङडाँडामा शहिद स्मृति पार्क निर्माण हुँदैछ । उक्त पार्क निर्माणका लागि २५ लाख बजेट व्यवस्था गरी सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको जिल्लामा उद्‌गम थलोको रुपमा चिनिने वडा नम्बर ४ स्थित कुविण्डेमा पनि शहिद स्मृति पार्क निर्माण हुँदैछ । उक्त शहीद पार्क निर्माणका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएर अहिले धमाधम निर्माण कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

वडा नम्बर ५ स्थित छापमा पनि नगरपालिकाले पार्क निर्माण गरेको छ । छापमा शंखधर पार्क ८ लाख रुपैयाँमा नगरपालिकाले निर्माण गरेको हो ।

त्यसैगरी वडा नं. ४ को वडा कार्यालयको भवनमा कुविण्डे शहरी स्वास्थ्य क्लिनिक सञ्‍चालन गर्नका लागि १ तला थप गर्ने काम भइरहेको जनाएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षमा हालसम्म १७ वटा नक्सापास र ६२ घरधुरीको अभिलेखिकरण गर्ने कार्य गरेको छ । त्यस्तै सौर्य ऊर्जाबाट सञ्चालन हुने १२ वटा सडक बत्ती जडान गरिएको जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्