जेष्ठ नागरिकहरुको सम्मानका लागि सधैं समर्पित छु – मेयर सापकोटा
चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले जेष्ठ नागरिकहरु समाजका अमूल्य निधि भएको बताउनु भएको छ ।
जेष्ठ नागरिक जिल्ला संघ सिन्धुपाल्चोकले शनिबार चौतारामा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रमको उद्घाटन गर्दै मेयर सापकोटाले जेष्ठ नागरिकहरुको सम्मान, आत्मस्वाभिमानका लागि नगरपालिका सधैं समर्पित रहने बताउनु भयो । जेष्ठ नागरिकहरुले सामाजिक भत्ता बुझ्न बैंक धाउनु पर्ने बाध्यताको अन्य गर्न नगरपालिकाबाट पहल समेत भइ रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद सुभाष कर्माचार्यले जेष्ठ नागरिकहरु उमेरले मात्र नभई अनुभव, ज्ञान र सीपले पनि बुढा भएकोले जेष्ठ नागरिकबाट आजको पुस्ताका लागि ज्ञान, सीप र अनुभवको खानी भएको बताउनु भयो ।
उपमेयर सीता थापाले जेष्ठ नागरिक सिकाई, भोगाई र अनुभवको अमुल्य सम्पत्ती भएको बताउदै ईतिहास निर्माता जेष्ठ नागरिकलाई अपहेलित नगरी सधैं सम्मान गर्न सन्ततिहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्ष जीवन श्रेष्ठ, नेकपा एमाले सचिव रामचन्द्र बस्नेत र चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का अध्यक्ष नरमान श्रेष्ठले शुभकामना मन्तब्य दिनुभएको थियो ।
कार्यक्रममा मेयर सापकोटा र उपमेयर थापाले जेष्ठ नागरिकहरुलाई नगदसहित सम्मान गर्नु भएको थियो ।
संघका अध्यक्ष माधवलाल कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन रामबहादुर घलेले गर्नु भएको थियो ।
कार्यक्रममा नगरभरिका १५० बढी जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।
