सिन्धुपाल्चोकबाट ९ जना विभूषित हुने
चौतारा । सरकारले बर्स्यौनी प्रदान गर्दै आइरहेको विभूषणबाट यो बर्ष सिन्धुपाल्चोकका ९ जना विभूषित हुने भएका छन् ।
२०७९ सालको संविधान दिवसको अवसरमा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका देशभरीका ९८२ जना मध्य सिन्धुपाल्चोकबाट विभूषित हुनेहरुमा देहावसान भएका २ जनासहित ८ जना पर्न सफल भएका हुन् ।
मृत्यु पश्चात् विभूषित हुनेहरुमा मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर स्व सतिशकुमार गोइत र खानेपानी आयोजनाकै स्व राधाकृष्ण थापामगर रहेका छन् । गोइत र थापामगर झण्डै २ बर्ष अगाडि मेलम्ची खानेपानी सुरुङको गेट फुट्दा आएको बाढीमा परि निधन भएको थियो ।
गोइत प्रवल जनसेवाश्री र थापामगर जनसेवाश्रीबाट विभूषित हुँदैछन ।
त्यस्तै गोरखबक्स गण, चौताराका पूर्व प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठ, आलू विकास केन्द्र निगालेका वरिष्ठ अधिकृत बिजयकुमार गिरी, मेलम्ची खानेपानीका सिनियर डिभिजन ईन्जिनियर पदमबहादुर कुँवर र बलेफीका व्यवसायी भारतप्रसाद पराजुली पनि प्रवल जनसेवाश्रीबाट विभूषित हुँदैछन ।
गायिका सुनिता दुलाल, सुनकोसीका व्यवसायी राजु कार्की जनसेवाश्रीबाट र गोरखबक्स गणका अमल्दार छविलाल सुनार विरता पदकबाट विभूषित हुँदैछन् ।
विभूषित हुनेहरुलाई बैशाख १ गते विहान ११ बजेबाट राष्ट्रपतिको कार्यालय शीतल निवासमा विभूषित गरिने गृहमन्त्रालयले जनाएको छ ।