आँखा रोगीहरु अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो ।
एक तथ्याङ्क अनुसार सदरमुकाम चौताराका अधिकाँश आँखा रोगीहरु झारफुकमा नै विश्वास गर्ने गरिएको देखिएको छ ।
चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थीहरुका टोलिले गरेको एक सर्वेक्षण अनुसार आँखा रोगीहरु अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो ।
अप्थाल्मोलोजि विभाग महारागञ्ज मेडिकल क्याम्पस, चिकित्सा शास्त्रमा अध्ययनरत ब्याचुलर अफ अप्टोमेट्री एकाइसौ ब्याचका विद्यार्थीहरुले सदरमुकाम चौतारामा ३०० घरधुरीमा शारिरीक, मानसिक र आँखा स्वास्थ्यको अवस्था बारे सर्वेक्षण गरेका थिए । एक महिने सो सर्वेक्षणमा उनीहरुले अधिकाँशमा उच्च रक्तचापको समस्या भएको तथ्याङ्क पनि सार्वजनिक गरेका छन् ।
बुधबार सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम अन्तर्गत द्धितीय सामुदायिक प्रस्तुतिकरण कार्यक्रमको क्रममा उच्च रक्तचापबाट मुटुमा समस्या उत्पन्न गर्ने सवालमा पनि चौताराबासी अनविज्ञ रहेको खुलासा गरे । खासगरि उच्च रक्तचापबाट जोडिएर आउने अन्य रोगको बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारले कार्यक्रम बनाउनु पर्नेमा कार्यक्रममा विद्यार्थीहरुले स्थानीय सरकारका प्रमुख, प्रतिनिधि र सरोकारवालाहरुको ध्यानाकार्षित गरे ।
कार्यक्रममा चेवन आचार्यले प्रस्तुत गरेको प्रतिवेदन अनुसार अधिकाँश वडाबासीमा दृष्टिदोष, सुख्खा आँखा, छड््के आँखा र अन्धोपनको समस्या रहेको छ । वडाबासीको घरघरमा पुगी सवेक्षणसँगै उपचार र उचित परामर्श सेवा प्रदान गरेको विद्यार्थी चिरञ्जिवि शाहले जानकारी दिनुभयाे ।
चिकित्सा शास्त्रमा अध्ययनरत दसजनाको टालिले श्री कृष्ण रत्नगंगा मावि मा आँखा स्क्रिनिङ सेवा र वडा न ५ को कार्यालयमा निशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो ।
प्रस्तुतिकरण कार्यक्रममा उपमेयर सीता थापाले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा व्यक्त गर्नु भयो भने वडा अध्यक्ष शिव श्रेष्ठले सर्वेक्षण मात्र नभइ स्थानीय जनताको स्वास्थ्य परीक्षण र उपचार गरेकोमा विद्यार्थीहरुलाई धन्यवाद दिनु भयो । विद्यार्थी मनिला महर्जनद्वारा सञ्चालित कार्यक्रममा वडा सदस्य रामबहादुर घले, पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ र पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
चाैतारा साँगाचाेकगढी नगरपालिका वडा न ५ र विपी काेइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाण्डौंकाे समन्वयमा एक महिना अघिदेखि समुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।