हुतराज अर्धचन्द्र पुरस्कारबाट सञ्चारकर्मी कसजू र पाख्रिन पुरस्कृत
मेलम्ची । हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका अग्रज पत्रकार सुरेश कसजू र कमला पाख्रिन पुरस्कृत हुनु भएको छ । कसजू र पाख्रिनलाई जनही रु ५ हजार १ सय नगदसहित आज पुरस्कृत गरिएको हो ।
इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको वार्षिकोत्सव समारोहमा यो पुरस्कार प्रदान हुँदै आएको छ । यो वर्ष पनि पत्रकारिताको क्षेत्रमा विशेष योगदान गरेबापत कसजू र पाख्रिनलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत कसजू जिल्लाका पुराना पत्रकार हुनुहुन्छ । २०४६ सालमा विप्लव मासिक पत्रिकाको प्रकाशन र सम्पादनमार्फत पत्रकारितामा प्रवेश गर्नु भएका कसजू त्यसयता सिन्धु सन्देश मासिक, सिन्धु सन्देश साप्ताहिक, सर्वपक्ष पाक्षिक हुँदै हाल जुगल खबर डटकम, सर्वपक्ष दैनिकका प्रकाशक एवम् सम्पादकको भूमिकामा रहनु भएको छ । गोरखापत्र संस्थानका पूर्व वोर्ड सदस्यसमेत रहनु भएका कसजू हाल नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका सल्लाकार, प्रेस सेन्टर नेपाल, सिन्धुपाल्चोकका सल्लाकार लगायत दर्जानौ साहित्यिक, सामाजिक र सञ्चार संघसंस्थामा कार्यरत हुनुहुन्छ ।
त्यस्तै पुरस्कृत पाख्रिन भ्वाइस अफ युथ रेडियो, रेडियो सिन्धु हुँदै हाल कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।
हुतराज अर्धचन्द्र पुरस्कारबाट सञ्चारकर्मी कसजू र पाख्रिन पुरस्कृत
