घट्दो सतर्कता, बढ्दो जोखिम !
चौतारा । स्वास्थ्य मापदण्ड पालनाप्रति आम नागरिकको वेवास्ता बढेसँगै जिल्लामा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु हुनेतर्फ विज्ञ तथा सरोकारवालाले सचेत गराएका छन् ।
निषेधाज्ञा हटाएपछि समाजिक दुरी र स्वास्थ्य मापदण्ड पालनाप्रति नागरिकले वेवास्ता गर्न थालेको निष्कर्ष निकाल्दै विज्ञ तथा सरोकारवालाहरुले सेचत रहन नागरिकलाई आग्रह गरेका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकका वरिष्ठ स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा कमी आएपनि पूर्ण रुपले भाइरस नियन्त्रणमा आइनसकेको हुँदा स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई अनुरोध गर्नुभयो ।
लकडाउन हटाएसँगै नागरिकहरुले मास्क, स्यानिटाईजरको प्रयोग गर्न छोडेकोप्रति चिन्तित हुँदै अधिकृत चापागाईले भने ‘नागरिकहरु यसरी निर्धक्क हिडिरहेका छन् कि मानौ कोरोना भाइरस पूर्ण नियन्त्रणमा आइसकेको छ’ । ‘नागरिकहरुको यही लापर्वाही नै कोरोना भाइरस संक्रमण तेस्रो लहरको कारण बन्ने छ ’ – अधिकृत चापागाँइले थप्नु भयो ।
हुन पनि अहिले सिन्धुपाल्चोकमा अधिकाँश नागरिक मास्क विना घुमफिर गर्न थालेका छन् । किनमेलमा जाँदा होस या अरु कुनै सभा समारोहमा सहभागि हुँदा होस, नागरिहरुले न्यूनतम स्वास्थ्य मापदण्ड पालना गरेको पनि देखिँदैन ।
स्वास्थ्य मापदण्ड र सामाजिक दुरीलाई वेवास्ता गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले दैनिक माइकिङ अभियानलाई तीव्रता दिएको छ । कारोना भाइरसबाट बच्न र नियन्त्रण गर्न सन्देशमुलक माइकिङ गरेपनि नागरिकहरु सचेत नभएको एसपी राजन अधिकारीले बताउँनुु भयो ।
अधिकाँश मान्छेहरु अहिले माक्स विना बजारमा देखिनु राम्रो संकेत नभएको जिल्ला अस्पताल चौताराका मेडिकल सुपरिटेण्डेट करुणा बज्राचार्य बताउँनु हुन्छ । कोरोना भाइरसको तेस्रो लहर आउनेप्रति स्वास्थ्य मन्त्रालयले पनि सजग गराइ सकेको हुँदा आम नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न र सामाजिक दुरी कायम गर्न उहाँले अनुरोध गर्नु भयो ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भए यता जिल्लामा ४ हजार १ सय ५६ जना संक्रमित भएकोमा ३ हजार ९ सय ८४ जना मुक्त भइसकेको र १४१ जना अझै सकृय संक्रमित रहेको छ । यस मध्य ३१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।