चौतारा । नेपाल चीनबीचको प्रमुख व्यापारीक तातोपानी नाकाबाट लक्ष्य भन्दा कम राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७७÷ ०७८ मा एक अर्व दुई करोड रुपैयाँ राजश्व संकलन भएको तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुुसार गएको आर्थिक वर्षभित्र ५ अर्व ४७ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो ।
कोरोना महामारी, लकडाउन र बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि राजश्व संकलनमा गिरावट आएको हो । गएको आर्थिक वर्षमा ४ महिना मात्र नाका सञ्चालनमा आएको भन्सार अधिकृत नारद गौतमले जानकारी दिनु भयो । गत असार २ गते आएको भोटेकोसी बाढीले नेपाल चीन जोड्ने लिपिङ पुल भासिएपछि आयातमा निकै कठिनाई भएको भन्सार अधिकृत गौतमको भनाइ छ । अझै पनि चिनियाँ भूभागमा १० वटा भन्दा बढी मालवाहक कन्टेनर अलपत्र रहेको उहाँले जानकारी दिनु भयो ।
नाका बन्द भएपछि राजश्व संकलनमा प्रभाव पर्नुका साथै सयौंको रोजगारी गुमेको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पोडेले बताउँनु भयो । ‘सामान अनलोड गर्ने करिब ३ सय भरिया अहिले बेरोजगार भएको छ ’अध्यक्ष पौडेलले भन्नु भयो ।
भासिएको पुल र सडक मर्मतका लागि स्थानीय सरकारसँग पर्याप्त बजेट नभएकोले प्रदेश वा केन्द्रीय सरकारले तत्काल चासो देखाउनु पर्ने अध्यक्ष पौडेलको भनाइ छ । वार्षिक ५ अर्व भन्दा बढी राजश्व संकलन गर्दै आएको तातोपानी नाकालाई स्थाईरुपमा सञ्चालन गर्नका लागि ठोस योजना ल्याउन पनि उहाँले सरकारसँग अनुरोध गर्नुभयो ।
२०७२ साल बैशाख १२ गतेको महाभूकम्पअघि तातोपानी भन्सार कार्यालयबाट दैनिक डेढ करोडसम्म राजश्व संकलन हुँदै आएको थियो । जुरे पहिरो, भूकम्प र लगत्तै आएको भोटेकोसी बाढीले सडक अवरुद्ध भएपछि यो नाका करिब ४ वर्षसम्म बन्द रह्यो । २०७६ साल जेठ १५ गतेबाट नाका औपचारिकरुपमा नै सञ्चालनमा आए पनि कोरोना भाइरस महामारी र सडक मर्मत हुन नसक्दा पटकपटक नाका बन्द हुँदै आएको छ ।