खोप किन्न चौतारा साँगाचोकगढी नगरपालिकाले माग्यो सरकारसँग अनुमति

चौतारा साँगाचोकगढी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदको लागि अनुमित दिन माग गरेको छ ।   बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद अनुमति मागेको हो । कोभिड–१९ को दोस्रो लहरपछि संक्रमित बढेसँगै नगरवासीको जीवन रक्षा गर्न नगरकै स्रोत साधनले खोप किन्न अनुमित मागेको प्रमुख अमानसिं तामाङले बताए ।  

‘संघीय सरकारले विविध कारणले खोप आपूर्ति गर्न सकिरहेको छैन,’ उनले भने, ‘सरकारले नसक्ने हो भने अनुमति दिएको खण्डमा स्थानीय सरकारले खोप किनेर आफ्ना नगरवासीलाई उपलब्ध गराउँछ ।’ नगर कार्यपालिका बैठकले कोरोना महामारीबाट नगरवासीलाई जोगाउन खोप नै एक मात्र उत्तम बिकल्प भएको ठहरसमेत गरेको छ ।  

बैठकको निर्णयपछि नगरले बिहीबारै खोप खरिदका लागि अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । ‘सम्भव भएसम्म संघीय सरकारबाटै खोप उपलब्ध गराई पाऊँ । सम्भव नभए खोप खरिदको लागि अनुमति पाउन अनुरोध गरिन्छ,’ नगरले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ ।  

नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत राजुभाइ श्रेष्ठले नगरभित्रको ५१ हजार जनसंख्यामध्ये ३० हजारलाई खोप दिने दिनुपर्ने बताए । उनका अनुसार यो जनसंख्यालाई दुईका दरले ६० हजार डोज खोप आवश्यक पर्छ । ‘अनुमित पाए यो जनसंख्यालाई खोप खरिद गरी प्रदान गर्ने निर्णय नगरले गरेको हो,’ उनले भने ।  

कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि जिल्लाका १२ स्थानीय तहमध्ये चौतारा सबैभन्दा बढी प्रभावित छ । दोस्रो लहरयता ७ सय ३७ नगरवासी कोरोना संक्रमित भएको नगरपालिकाले जनाएको छ । हालसम्म ९४ कोरोनामूक्त भएका छन् भने सातको मृत्यु भइसकेको छ । संक्रिय संक्रमित ६ सय ४३ मध्ये सीमितको संस्थागत आइसोलेसमा उपचार भइरहेको छ । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् ।  

नगरपालिकाका अनुसार हालसम्म झण्डै एक हजार नगरवासीले मात्र खोपको पहिलो डोज लगाएका छन् । गएको फागुन–चैतमा पहिलो डोज खोप लगाएका सबैले अझै दोस्रो डोज पाउन सकेका छैनन् । अपुरो खोप पाउनेहरु पनि ६५ वर्षमाथि उमेर समूहका र तोकिएका बर्ग मात्र छन् । अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले भर्खर दोस्रो डोज खोप पाउन थालेका छन् । उनीहरुहरुलाई नै खोप पर्याप्त नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्