चौतारा साँगाचोकगढी वडा न ४ कुविण्डे र वडा न ९ पछि कोरोना हटस्पटको रुपमा अर्को वडा न १३ ठूलोसिरुवारी देखिएको छ ।पछिल्लो २४ घण्टाको स्वाब परीक्षणको नतिजा अनुसार ठूलोसिरुबारी एकैदिन ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । विहीबार ८७ जनामा गरिएको स्वाब संकलनमा ३३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । त्यसपछि सदरमूकाम रहेको वडा न ५ मा पनि संक्रमितको संख्या बढ्दो छ । विहीबार नै गरिएको परीक्षणमा ९ जनाका कोरोना पोजेटिभ नतिजा आएको छ । विहीबार जिल्लाभरि गरिएको २२६ जनाको स्वाब परीक्षणमा ७० जनाको नतिजा पोजेटिभ आएको हो । यो सँगै जिल्लामा संक्रमितको संख्या २ सय ५६ पुगेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकामा ४२, इन्द्रावती गाउँपालिकामा १४, लिसंखुपाखर गाउपालिकामा ६, भोटेकोसी गाउँपालिकामा ३, बलेफी गाउँपालिकामा ३ र त्रिपुरासुन्दरी गाउँपालिकामा ३ गरि ७० जना कारोना भाइरस संक्रमित भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँइले जानकारी दिनुभयो ।
कोभिड १९ को दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भइसकेको छ भने ३ जना निको भएर घर फर्किसकेका छन् ।
कोरोनाको हटस्पट बन्दै ठूलोसिरुवारी
