माेनिका विक/ चौतारा । चौताराबाट आफ्नो घर सानोसिरुवारी जाँदै गरेका समाजसेवी डम्बरबहादुर तामाङमाथि साँघातिक हमला भएको छ । हमलाबाट टाउकोमा गम्भीर चोट लागेको तामाङलाई जिल्ला अस्पताल चौताराले उपचार गर्न नसकिएपछि काठमाण्डौं रिफर गरिएको छ । तामाङको अवस्था यसै भन्न नसकिने अस्पतालले जनाएको छ ।
शुक्रबार करिब २ बजेतिर तामाङ एक्लै घर फर्कदै थिए । चौतारा च्यानपाटीमूनी एकान्त ठाउँ पुगेपछि अज्ञात व्यक्तिले पछाडिबाट तामाङको टाउकोमा रड प्रहार गरेको प्रहरीले जनाएको छ । तामाङको साथमा रहेको झोला, मोवाइल लगायत पैसा लुटिएको पनि प्रहरीले जनाएको छ ।
आक्रमणकारी फरार रहेको र अनुसन्धानलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।