सिएमए संघद्वारा १७औं स्थापना दिवसमा खाद्यान्न सहयोग

नेपाल सिएमए संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आफ्नो १७औं स्थापना दिवसको अवसरमा चौतारा बृद्धाश्रमको जेष्ठ नागरिकहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
‘सिएमए एकता आजको आवश्यकता, पेशागत हकहित र अधिकार’ भन्ने मूल नाराका साथ संघले कोभिड– १९ को महामारीबीच आफ्नो स्थापना दिवस मनाएको हो । ‘कोरोना महामारीका कारण हामीले ठूलो कार्यक्रम नगरी जेष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गरेका हौं’, सिएमए संघ सिन्धुपाल्चोकका सचिव केदारनाथ दुलालले भने– ‘मानवीय सहायता हाम्रो मूल मर्म हो त्यसैले स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकलाई हामीले सहयोग गरेका हौं ।’
बृद्धाश्रममा रहेको ९ जेष्ठ नागरिकहरुलाई संघले चामल, दाल, चिनी, साबुन, नुन, विस्कुटलगायत अत्यावश्यक खाद्य सामग्री वितरण गरेको हो । सहयोग सामग्री चौतारा साँगाचोकगढी नगरपालिका– ५ का अध्यक्ष नरमान श्रेष्ठले जेष्ठ नागरिकलाई हस्तान्तरण गरेको थिए । सहयोग सामग्री ग्रहण गर्दै जेष्ठ नागरिकहरुले आपूmले पाउने सामाजिक सुरक्षा भत्ता बृद्धाश्रममा नै पाउने व्यवस्था भए आपूmहरुलाई सहज हुने बताएका थिए । जिल्लाका विभिन्न पालिकाहरुबाट आई बृद्धाश्रम बसेका उनीहरुलाई भत्ता लिन जान असहज छ ।
स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै सचिव दुलालले कोभिड– १९ को महामारीमा पनि पारामेडिक्सहरु रातदिन नभनि स्वास्थ्य केन्द्र होस् वा नीजि स्वास्थ्य संस्थामा खटि सेवा दिईरहेको बताए । ‘राज्यले स्वास्थ्यकर्मीलाई चिन्न सकेको छैन । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म हेर्ने हो भने गाउँका डाक्टर अहेब नै हुन्’, दुलालले भने– ‘काम जति पारा मेडिक्सले गर्ने नाम जति अरुको आउने परिपाटीको अन्त्य गर्न हाम्रो संघ लागिपरिरहेको छ ।’ सिएमए संघ झोलामा राखेर हिँड्ने संस्था नभएको उल्लेख गर्दै उनले यसको छुट्टै नीति, नियम र विधान रहेको प्रष्ट्याए ।
नेपाल सिएमए संघले २६ सुत्रीय माग राखी सरकारलाई दवाव दिईरहेको बताउँदै दुलालले केहि माग राज्यले पूरा गरेको र केहि पूरा गर्न बाँकी रहेको बताए । ‘अभिलम्ब राज्यले माग पूरा नगरे सुई समात्ने हातले मुठी कस्न हामी बाध्य हुनेछौं’, उनले भने ।
संघका सल्लाहकार केशव नापितले स्वास्थ्यकर्मीको मागलाई वेवास्था गर्न नहुने बताउँदै सुख, दुःखमा रहेका सिएमएहरुलाई आन्दोलनमा उत्रने वातावरण सिर्जना नगर्न आग्रह गरे । कार्यक्रममा सिएमए संघका सदस्यहरु, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

सिफारिस

प्रतिकृया दिनुहोस्