पुरानोको अहम्ता उस्तै, नयाँको अन्यौलता दुरुस्तै : मूलुकको समस्या जस्ताको तस्तै

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको आँधिवेहरीले मूलुकको ऐतिहासिक भौतिक संरचना त ध्वस्त भयो भयो, तर त्यो ध्वंसात्म आन्दोलनको आगोले पुराना भनिएका दलहरुलाई पनि खरानी बनाइदियो । जसलाई भर्खरै सम्पन्न फागुनको निर्वाचनले पनि प्रमाणित गरिदियो । परिणाम त नेपाली काँग्रेसको ऐतिहासिक विरासतलाई पहिलोपटक विचरा बनाइदियो । संगठनात्मक बजबुतिको बुत्तामा गर्वको गर्जन गर्दै आएका एमालेलाई यमलोकको यात्रामा नै पठाइदियो । अनि पटकपटक सरकारको स्वादमा ३२ सिटे म्याजिक मुर्कटा बन्दै अट्टाहास गर्ने माओवादीलाई फगत म्याँउ गर्ने विरालोमा रुपान्तरण गरिदियो । सिंहदरबार, सर्वोच्च अदालत जस्ता ऐतिहासिक धरोहरहरु ध्वस्त भए, खरानी भए । सँगसँगै पुराना भनिएका दलहरु पनि खरानी भए । खरानीकै त्यही थुप्रोबाट दलहरुले सकि नसकि मुन्टो निकालेर चियाइ त रहेको छ तर विडम्बना हुँकारमा भने उही पुराना धङधङति बाँकी रहेको छ । आफ्नै धृष्टता र अहम्ताले मरिच चाउरिए जस्तै चाउरी परेका दलहरुमा अझै आफू चाउरिनुमा कुनै पश्चातप देखिँदैन । सुधारका कुनै संकेत देखिँदैन । परिवर्तित समयलाई नजरअन्दाज गर्दै उनीहरु खास गरि यी दलका नेतृत्वमा रहेकाहरु अझै बुढो गोरुले कोरल्ली गाई आगटे जस्तै सिंगो पार्टीलाई ओगटेर बसेका छन् । जसले निकटमा आउने स्थानीय निर्वाचनमा मात्र होइन, सिंगो आगतमै यिनीहरुको भविष्यमाथि प्रश्न चिन्ह्र ठडिँदै गएको छ ।
समय सापेक्ष, जनचाहनाको जगमा उभिँदै नेपाली काँग्रेसले जवरजस्ति भए पनि आफूलाई रुपान्तरणको बाटोमा उन्मुख भएको केही संकेत दिन त सफल भए भएको छ तर त्यो सफलताले सिंगो पार्टीभित्र अन्तरद्वन्द्वको आगो दनदनी बल्न थालेको छ । खासगरि पुराना पुस्ताले त्यही बुढो गोरु र कोरल्ली गाईको उखानलाई चरितार्थ गर्नु र नयाँ पुस्ता भनिएकाहरुले बुढो पुस्तालाई भीरबाट नै लडाउन खोज्नुले नेपाली काँग्रेस यतिखेर चरम अप्ठ्यारोमा छ । खासगरि जेनजी आन्दोलनको उदय र फागुनको निर्वाचनलाई मूल्याङ्कन गर्न नसक्दा काँग्रेसभित्र बुढा पुस्ताको असन्तुष्टि चुलिँदै गएकोछ । निर्वतमान सभापतिलाई निर्वासनबाट फेरि नेतृत्वको आसनमा विराजमान गर्न बुढापुस्ताका काँग्रेसीहरु लौरो टेकेरै भए पनि लड्ने मुडमा देखिन्छ । जसले सिंगो काँग्रेसलाई फाटोको बाटोमा उन्मुख गराएको लक्षणहरु एकपछि अर्को लश्करै देखापर्न थालेको छ । अर्कोतर्फ पदोलुप्ता काँग्रेसभित्रको पुरानो भाइरस हो । जुन भर्खरै सम्पन्न काँग्रेको महाधिवेशको क्रममा छताछुल्ल नै भयो । २००७ सालदेखिको ऐतिहासक विरासत बोकेको काँग्रेस यतिखेर अत्यन्तै कमजोर अवस्थाबाट गुज्रन बाध्य छ तर त्यो बाध्यतालाई वेवास्ता गर्दै काँग्रेसीजनहरु पदकै लागि एकअपासमा लड्ने र भिड्ने तहमा देखिए । संकटको बेला, संयमता, धैर्यता र समर्पणको खाँचो अत्यावश्यक हुन्छ तर यस्तो विषम परिस्थितिमा पनि काँग्रेसीजनहरु एकताको साटो ए–कता ? को एैंठन बोकेर हिडिरहेका छन् । राजनीतिक माहौल र समयको खोला पुरा उल्टो दिशातिर उन्मुख भइसकेको छ तर काँग्रेसीजनमा भने चनेतनाको च पनि देखिँदैन । यही रबैया रहने हो भने भनिरहनु पर्दै आगतमा काँग्रेस एकादेशको कथामा सीमित रहनेछ ।
यता सुघ्रित संगठनको ल्वाङ खाएर स्वाङ् गर्ने स्वाँठहरुको पार्टी नेकपा एमाले अझै उही केपी ओलीको स्वाङमा स्वाँ…स्वाँ गर्दैछ, साँस भर्ने कुचेष्टा गर्दैछ । अहिले पनि ओलिबाकै साँसबाट पार्टीलाई नवजीवन दिन्छु भन्ने लठैतहहरु केपीबाकै लहलहैमा लाग्नु अचम्म होइन तर स्थिति र परिस्थितिको मूल्याङ्कन गर्न नसक्नु केपीबाको पुरानै रोग हो । एउटा सबल नेतृत्वले चारदिशा, चारकुनाको मात्र होइन आकाश र जमिनको समेत अवस्था र व्यवस्थाको अध्ययन गरेर मात्र आफू अगाडि बढ्दा सर्वपक्षिय हित हुन्छ तर विगतदेखि बर्तमानसम्म केपीबाले आफ्नै अहम्ताको मात्र अध्ययन गरे । आफनै छेउको दृष्यलाई मात्र आफ्नो ठाने अनि सत्य माने । क्षितिज पारी पनि संसार हुन्छ है भन्ने हेक्का न यिनले विगतमा राख्न सके, न त अहिले नै । आफ्नो नेतृत्वको सरकार हुँदा जनमासमा चुलिएको असन्तुष्टिलाई यिनले आफ्नो सफलता देखेर घेरावन्दी ठाने । मेरा आदेश विना सूर्य उदाउँदेन भन्ने भावमा यिनले हुँदाखाँदाको शक्तिशाली नेकपालाई छिन्नभिन्न पारे । असहमति राख्नेहरुलाई पार्टीभित्रबाट गलहत्याए वा आफै बाटो तताउन बाध्य पारे । अरुलाई तृण जतिक्कै नठान्ने यिनको अहमता यति उन्मदिलो बनिदियोको त्यसको उभारमा जेनजी आन्दोलन भयो । हेलिकोप्टरबाट भाग्नु प¥यो । निर्वाचनमा यिनको पार्टीले निमछरो नतिजा ल्यायो । फेरि पनि परिस्थितिलाई यिनले आँकलन गर्न सकेका छैनन् । बदलिँदो समय र त्यसको मागबारे यिनी बेखबर त छैनन् जस्तो लाग्छ तर त्यो मागको साखलाई सम्वोधन गर्दै नेतृत्व हस्तान्तरण गर्नुको साटो उही बुढो गोरु र कोरेल्ली गाईको उखानलाई यीनले सिधा र प्रष्टरुपमा अंगिकार गदैआएका छन् । तल्लोतहका नेताहरुमा यो चेत भए पनि उनको अगाडि कि त लाश, कि त दास बन्न वाध्य छन् । बदलामा उनी उन्मत्त साँढे झै डुक्रि रहेका छन । जुन डुक्राईले एकदिन एमाले भन्ने पार्टी सिंगो डुबानमा पर्ने निश्चित छ ।
माइनसको महायात्रामा यात्रारत माओवादी यतिखेर सकौनीको विसौनीमा छ भन्दा पनि फरक नपर्ला । ६४ पछिको यीनको यात्रा फेरि कहिल्यै रहर लाग्दो बन्न सकेन । सत्ताको स्वादका लागि जोसँग पनि गठजोड गर्ने रणनीति हावि हुँदा यिनले आफ्ना नीतिहरुलाई आफैले नै नाङ्गेझार पारे । आफ्ना सिद्धान्तहरुको सेकुवा बनाउँदै ग¥याम्म ग¥याम्म चपाए । र अन्तत ः गत फागुनको चुनावपछि इतिहासमै पहिलोपटक भूरे पार्टीमा दर्ज भए । खिइँदै खिँइदै खरानी नै हुन लाग्दा पनि यो पार्टीको सुप्रिमो भनिएका प्रचण्ड उर्फ पुष्पकमल दाहालको डाँको भनिनसक्नुको छ । यिनको बर्बरताका कारण आफ्नै सहकर्मीहरुले बाटा तताए । तिनलाई फकाउने र फर्काउने ध्ययमा यिनी कहिल्यै लागेनन् । बरु कसरी हुन्छ सत्ता टिकाउने र आफै सर्वेसर्वा बन्ने एकलकाँटे सोचमा यिनी निमग्न भए । जुन निमग्नता पछिल्लो चरण निकम्मा सावित हुँदै गएको सन्दर्भ र सामाग्रीहरु यत्रतत्र छरपष्ट छन् । अझै पनि म विना पार्टी चल्दैन र मेरै नेतृत्व नै अन्तिम सत्य हो भन्ने भ्रममा यिनी भ्वाङ परेको सतह नै सतह कुदिरहेछन् । तर अचम्म त के छ भने उता काँग्रेसमा हस्तक्षेपको हलो जोतेरै भए पनि पुराना चपरा पल्टाउने प्रयास भएको छ । एमालेमा यदाकदा ओलि विरुद्ध आवाजहरु बुलन्द बन्दै गएको छ तर यीनका पार्टीभित्र भने सायद सबै खेताला मात्र छन् क्यारे । जसको काम भनेकै मालिकले अह्राएको गर्ने हो – आदिम दासको नयाँ अवतार बनेर । परिपर्तित समयको पदचाप सुन्न नसक्नु, नयाँ पुस्ताको ताप र रापलाई नजरअन्दाज गर्नु यिनको सबैभन्दा भूल हो र भनिरहनु पर्र्दैन यस्तै ताल अनि हाल रहिरहने हो भने यही महाभुलको भट्टिमा यिनको दल कुनै दिन भष्मभूत हुनेछ र बाँकी रहनेछ मात्र खरानी ।
विध्वंसको विरासत, वितृष्णाको बीज अनि गालिगौजको अध्यारो गल्लीबाट नेपाली राजनीतिको उज्यालो चोकमा उभिन आएको रास्वपाप्रति आम आशा, भरोसा र विश्वास भए पनि त्यो क्रमश विटुलो बन्दै गएको छ । दुई तिहाइको दम्भले अन्धो भएका यिनका नेता मात्र हैनन् कार्यकर्ता पनि उही ड्याङको मूलाबाट अहिलेसम्म माथि उठ्न नसकेको घाम जतिकै छर्लङ्ग छ । संस्कार, मर्यादा र शिष्टताको शीर छेदन गर्न यिनका नेता र कार्यकर्तालाई कुनै माइकालालले पनि भ्याउँदैन । मानौ काँचोमुख नै यिनीहरुको पहिचान हो । गाली नै यिनीहरु गला हो र अमर्यादा नै यिनीहरुको आँखाको हो । भलै यो ६ महिनाको बीचमा रास्वपा सभापतिमा केही परिपक्वता र शिष्टताको विकास भएको पाइन्छ यदपी प्रधानमन्त्री, मन्त्री, सांसद र आम शुभेच्छुकको गति र मति हेर्ने हो भने मर्यादालाई यिनीहरुले मकैभट्मास जस्तै चपाएको हेर्न र भोग्न पाइन्छ । आफू कुन पदमा छु र आफ्ना पदीय मर्यादा के हो भन्ने सामान्य हेक्का राख्न नसक्ने बेसोमत बालेन र तिनका गणको गन्धा हर्कतले यतिखेर नेपाली समाज प्रदुषणमय बन्दैछ । नयाँ भनिएता पनि पुरानै दलकै पथमा अगाडी बढ्दै गरेको रास्वपा र दुईतिहाइको सरकारले यसबीच काम गर्न नखोजेका पनि हैनन् तर अलिकति पनि अनुभव र अनुभूति नभएका यिनीहरुमा अन्यौलताभन्दा केही देखिँदैन । अपरिपक्वताको एउटा कालो पहाड नै देखिन्छ । भ्रष्टाचारको फाइल खोल्छु भन्दै गर्जेका यिनीहरुले अहिलेसम्म कुनै पनि फाइल खोल्न सकेका छैनन् । तुलनात्मकरुपमा नारायणकाजी गृहमन्त्री हुँदा जति पनि प्रयास गरे, दुईतिहाईले त्यति पनि गर्न सकेको छैन । स्टन्टनको एक स्टिक सर्को तान्दै रातविरात उच्चपदस्थ व्यक्तिहरुलाई समाउने र विहान छाड्ने यिनीहरुको रुल एण्ड रुटिन नै बनिसकेको छ । विदेशी गल्लीहरुमा नेपाल फर्क अभियानको स्टिकर नै टाँस्ने उद्घोष गरेका यिनीहरुले न त कोही फर्काउन सकेका छन्, न त रोक्न नै । सुकुमबासीको वस्तीमा डोजर चल्दा छाति थाप्छु भन्नेहरुको छाति पनि सुकुम्बासीले राम्रोरी नै छामी सके । बोल्ने तर नगर्ने प्रवृत्ति त पुराना भनिएका दलहरुमा पो विद्यमान थियो तर त्यो भन्दा पनि खतरानाक प्रवृत्ति यिनीहरुमा देखिँदैछ । अर्कोतिर दुईतिहाइको सवल संसद यतिखेर कमेडी सर्कसमा रुपान्तरण हुँदैछ । न नीति, न कानून न कार्यक्रमको विषय उठान हुन्छ । बरु झयाउ लाग्यो ब्रो च्या खान जाउँ भन्दै कोही खुसखुस गरिरहेका हुन्छन्, कोही कनिकनी चिर्कटो हेर्दै पढिरहेका हुन्छन, त कोही छेउ न टुप्पोको विषय तन्किाइरहेका हुन्छन् । यो ६ महिनामा के भयो त भनेर क्यामरा तेस्र्याउँदा सांसदहरु सू आयो भन्दै कुद्ने गर्छन् अनि कार्यकर्ताहरु ३५ वर्षमा के नाप्यो त भनेर नापिएकै जवाफ दिन्छन् । तर ३५ वर्षमा केही नाप्न नसकेको र त्यसैको वितृष्णालाई ढाल बनाएर रास्वपा दुईतिहाइको दैलोमा उभिएको यर्थाथता भने उनीहरुले चटक्कै विर्सन्छन् । हो यो ६ महिनामा अधिकाँश रास्वपाबाट विजयी सांसदहरु कन्टेन्ट क्रियटरबाट घण्टेन्ट क्रियटर बन्न सफल भने भएका छन् र उनीहरुका सामाजिक सञ्जालहरुले पनि त्यही प्रदर्शन गरिरहेको छ । हुन त मुख्य मानिएका प्रधानमन्त्री र गृहमन्त्री नै टोले ¥यापर र डिजेबाट माथि उठ्न नसकेको परिवेशमा यिनका सांसद अनि शुभेच्छुकबाट के नै आशा राख्न सकिन्छ र ?
पक्कै पनि नेपाली जनताले पुराना दलहरूमाथि तीन दशकभन्दा बढी समयसम्म आशा राखेकै हुन् । ‘अहिले गर्ला कि, भरे गर्ला कि’ भन्दै धैर्यताको बाँध बाँधेरै बसेका हुन् । तर जब त्यो बाँध फुट्यो, त्यसपछि विनाशको शङ्खनाद कस्तो हुँदो रहेछ भन्ने कुरा सायद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सकल मनुष्यगणलाई भन्दा बढी अरू कसलाई थाहा होला र? भलै त्यो जनआक्रोशको भेलले ३५ वर्षे शासनका शासकहरूलाई जसोतसो किनारामा पु¥याइदियो, तर एउटा कुरा भनिरहनु नपर्ला—यदि रास्वपाले पनि त्यही पुरानै बाटो पछ्यायो भने जनता अब हिजोजस्तो ३५ वर्ष कुर्नेवाला छैनन् । पाँच वर्षमै निराशा आक्रोशमा बदलिनेछ, असन्तुष्टि विस्फोट हुनेछ र त्यसबाट सल्किएको आगोले सत्ता मात्र होइन, सत्तासँग जोडिएका अहंकार र आत्ममुग्धताको आधारसमेत खरानी बनाउनेछ । त्यसबेला जनताको धैर्यको सीमा कहाँ पुग्छ र त्यसको मूल्य कसले चुकाउनुपर्छ भन्ने कुरा इतिहासले फेरि कठोर ढङ्गले सम्झाउनेछ । त्यसैले बेलामा नै अहमता, अन्यौलता, अमर्यादालाई चिर्न सकेन भने भनिरहनु पर्दैन रास्वपा पनि चिराचिरा पर्दै जानेछ ।
हो दसीप्रमाणहरुले के देखाउँछ भने फेरि पनि एकपटक पात्र फेरिएका छन् तर प्रवृत्ति उस्तै । झण्डा फेरिएको छ तर संस्कार दुरुस्तै । पुरानाको अहंकार अग्लै छ, नयाँको अन्योलता सग्लै देखिन्छ । जनताले खोजेको परिवर्तन सामाजिक सञ्जाल र स्टन्टको जन्जालमा होइन, व्यवहार र संस्कारमा देखिनुपर्ने हो । तर जब पुराना चेतनाविहीन र नयाँ दिशाविहीन हुन्छन्, तब सत्ता फेरिए पनि मुलुकको समस्या जस्ताको तस्तै रहन्छ र यो यथास्थितिलाई चिर्न र सायद जनता अब धेरै काल पर्खनेवालामा छैन ।

सिफारिस

प्रतिकृया दिनुहोस्