चौतारा
(२०८० साउन ३०) सिन्धुपाल्चोकको चौतारा बाजारको एक चिया पसलमा चिनीमा मिसावट भनि सामाजिक सञ्जाल र सञ्चारमाध्ममा छ्यापछ्याप्ती आएपछि तत्काल अनुगमन समितिको संयोजक सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । श्रेष्ठको नेतृत्वमा खटीएको अनुगमन टोलीले चिनीमा मिसावट नभएको ठहर गरेको छ ।
जिल्ला अनुगमन समितिले बजारको चिनी खरीद गरिएको पसल लगाएत १ दर्जन पसलहरुमा गरिएको अनुगमनमा कहि मिसावट भएको चिनी फेला नपरेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए । उनका अनुसार यस भन्दा बाहेक नियमित रुपमा जिल्लामा संचालित होटल तथा किराना पसलहरुको अनुगमनलाई तिव्रता दिईदै आएको छ । बजारमा मिसावटयुक्त चिनी तथा अन्य खाद्य बस्तुको विगविगी बढेको भन्ने सूचना आए लगतै बजार अनुगमनलाई तिव्रता दिएको हो ।
मंगलवार चौताराका होटल तथा पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनाथ काफ्ले , सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ प्रतिनिधी निर्मल बस्नेत नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद् सदस्य ज्ञानेन्द्रप्रसाद तिमल्सीना र सिन्धु शाखाका सचिब बिदुर आचार्य तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
बजार अनुगमन नियमित प्रकृया भएकोले यसलाई निरन्तरता दिईने र कतै मिसावट तथा कालो बजारी भएको छ भने जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्वन्धित निकायमा खबर गर्न समेत सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आग्रह गरे ।