वडामै पुगेर योजना सम्झौता हुन थालेपछि सिंहदरबार आएको महसुस

समयमै एकमुष्ट सबै योजना सम्झौता गरिदा योजनाको काम पनि समयमै सम्पन्न हुने गरेको स्थानीयको भनाई छ ।

मेलम्ची । हिउँदे अधिवेशनबाट छनोट भएका योजनाको वडामै पुगेर उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसुस गर्न थालेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडा स्तरमा नै सम्झौता थालेको हो । नगरपालिकाले वडा नम्बर १, २, ३ र ५ का योजनाहरूको नगरबाट सम्बन्धित वडा कार्यालयमै पुगेर अनलाइन सिस्टम बाट उपभोक्ता समिति दर्ता तथा योजना सम्झौता गर्ने कार्य सम्पन्न भएको योजना शाखाका प्रमुख रामकुमार केसीले जानकारी दिनुभयो । नगरपालिकाले योजना सम्झौता हुनुभन्दा अगाडि १३ वटै वडामा गएर  उपभोक्ता समितिलाई  अनुशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । 

स्थानीयलाई पालिका केन्द्रसम्म धाउन सास्ती हुने भन्दै जनप्रतिनिधि र कर्मचारीको टोलीले वडामा पुगेर योजना सम्झौता गरेको वडा नम्बर १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाँईले जानकारी दिनुभयो । उपभोक्ता समितिका तीनजना मुख्य पदाधिकारी नगरमै आएर सम्झौता गर्नुपर्नेमा यसरी टाढाको दुरीमा रहेका हरूलाई वडामा नै गएर सम्झौता गर्दा उपभोक्ता समितिलाई सहज हुनुका साथै  पालिकासम्म आउने खर्च समेत कम हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो ।  

समयमै एकमुष्ट सबै योजना सम्झौता गरिदा योजनाको काम पनि समयमै सम्पन्न हुने गरेको स्थानीयको भनाई छ । अनलाइन प्रणालीबाट योजना सम्झौता हुने हुँदा पहिलाको जस्तो झन्झटिलो समेत नहुने योजना शाखाका कर्मचारी माया खड्काले बताउनुभयो । यस अघि १२  औँ अधिवेशनबाट विनियोजित योजनाहरू  पनि नगरबाट टाढाको दुरीमा  रहेका  वडा कार्यालयमा पुगेर नै योजना सम्झौता गरिएको उपप्रमुख उमा प्रधानको भनाइ छ ।यसले योजना कार्यान्वयनमा सहजता भएको उहाँको भनाइ छ । 

उपभोक्ताको सहजताको लागि वडा वडामै पुगेर योजना सम्झौताको काम गरेको नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । नगरवासीको सहजताका लागि आगामी दिनमा समेत प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

सिफारिस

प्रतिकृया दिनुहोस्