यी वडा अध्यक्ष जसले आफैलाई कटाक्ष गर्दै किसानलाई हौस्याए


चौतारा । पारीका गराहरुमा विभिन्न सागसव्जी तरकारीका हरियापरिया दृष्यहरु । वारीका फाँटहरु भने बाँजो र उराठ । बीचमा इन्द्रावती नदी । पारी अर्थात काभ्रे र वारी सिन्धुपाल्चोक । पारी देखिएको हरियाली दृष्य ज्याम्दीको अनि वारीको चौतारा साँगाचोकगढी वडा न ११ साँगाचोकको । वारी पारीबीचको आकाश पातलको यही फरक दृष्यबाट विरक्तिएका वडा अध्यक्ष रोशन गिरी आफैलाई व्यँग्य कस्नु हुन्छ र लेख्नु हुन्छ सामाजिक सञ्जालतिर – ” यो बोडि पारी ज्याम्दीमा फल्ने अनि वारी साँगाचोकमा नफल्ने । नफलाउने हामी अल्छीहरुलाई बधाई ” ।
हुन पनि वारी भेग साँगाचोकमा किसानहरु अल्छी बनिदिंदा जग्गा जमिनहरु अधिकाँश बाँजै छन् । सधैं पारिको दृष्य हेरेर विरक्तिएका अध्यक्ष गिरीले आफैलाई “हामी” शव्दको प्रयोग गर्दै अल्छी भएकोमा बधाई त दिनु भएको छ तर अधिकाँशले त्यो बधाईलाई व्यँग्यसँगै किसानहरुका लागि हौसला पनि भएको बताउनु भएको छ ।
भौतिक पूर्वाधारको निर्माण र विकासले मात्र समृद्धिको सपना पुरा नहुने यथार्थता राम्ररी बुझेका अध्यक्ष गिरीले भललाई जलमा परिणत गर्दै वडामा कृषि क्रान्ति गर्ने सोचमा हुनु हुन्छ । त्यसैले त अध्यक्ष गिरीले वडाको ७० प्रतिशत भन्दा बढी बजेट कृषि र पशुपालनमा विनियोजन गर्नु भएको छ । उत्पादनसँग नजोडि जनताको जीवनस्तरमा सुधार ल्याउन नसक्ने बताउनु हुने अध्यक्ष गिरीले सिंचाइको अभावलाई छल्न ७० लाख लिटर क्षमताको पोखरी निर्माणलाई पनि तीव्रता दिनु भएको छ । यो पोखरी निर्माणपश्चात सिंचाइको सुविधासँगै कृषि कर्ममा किसानहरु फर्कने र बाँजा जमिनहरुमा हरियाली छाउने उहाँको विश्वास छ । त्यो भन्दा अगाडि किसानलाई मानसिकरुपमा तयार गर्नका लागि उहाँ सामाजिक सञ्जालमा स्टाट्स लेख्नका साथै किसानसँग भेटघाट गर्ने, विकास निर्माणमा श्रमदानलाई प्राथमिकता दिने र पशु पालन एमव् कृषिमार्फत गाउँलाई समृद्ध बनाउने खाका कोरी कोरि रहनु हुन्छ ।
त्यसैले त अध्यक्ष गिरीले अनुदानलाई भन्दा पनि उत्पादनलाई बढी जोड दिएको पाइन्छ । स्त्री चौपाय वितरणलाई प्राथकितामा राख्नु भएको छ । केही सीमित किसानलाई स्त्री चौपाय वितरण गर्ने र ती चौपायबाट उत्पादन भएका स्त्री चौपाय पुन अर्को किसानलाई वितरण गर्दै जाने उँहाको योजना रहेको छ । यो क्रमले सीमित स्रोतबाट सबै किसान लावान्वित हुनका साथै सबै किसान छोटो समयमा नै पशुपालनमा किसान आत्मनिर्भर हुने अध्यक्ष गिरीको विश्वास छ ।

सिफारिस

प्रतिकृया दिनुहोस्