चौतारा । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा पछिल्लोपटक कोराना
संक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेको छ । कोरोनाको नमूना संकलन व्यापक नगरिए पनि चोक चोकमा कोराना संक्रमितहरु देखा पर्न थालेपछि चौतारा कोरोनाको हटस्पट बन्ने संकेत देखिएको हो ।
चौताराको टुँडिखेलदेखि बाजोखेतसम्म कोरोना संक्रिमितहरु देखापर्न थालेको वडा अध्यक्ष नरमान श्रष्ठले बताए । त्यसो त चौतारा बसपार्क, कप्तानपाटी र गैरी गाउँमा पनि लक्षण देखिएको संक्रमितहरु देखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
चौताराको शहीदचोक, (मिलन मेगा बैंक )चोक, प्रेसचोक भिन्तुना चोक, भीमसेन र कृष्ण मन्दिर परिशरका केही स्थानीयमा पनि कारोना संक्रमण पुष्टि भईसकेको छ । चोकचोकका स्थानीयहरुमा कोरोना संक्रमण देखिन थालेपछि चौतारामा कारोना भाइरस भूसको आगो झै सल्किसकेको अनुमान गरिएको छ
यसैबीच कोरोना रोकथाम र नियन्त्रणका लागि वडा न ५ को समन्वयमा आज भएको सर्वपक्षिय छलफलमा स्थानीयहरुले बैशाख २४ गतेदेखि जेठ १ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको छ । पशुसेवा र औषधीजन्य सेवा लगायत अत्यावश्यक व्यवसाय बाहेक अन्य सबै पसल र आवागमन ठप्प पार्ने सर्वपक्षिय भेलाले निर्णय गरेको हो । निर्णयलाई कडाईका साथ पालना गर्न गराउन स्थानीय टोल विकास समितिहरु परिचालन हुने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
छलफलमा स्थानीय व्यापारी, राजनीतिककर्मी र सरोकारवालाहरुको सहभागि थिए भने यस अघि चौतारा लगायत सिन्धुपाल्चोकका मुख्य ब्यापारीक क्षेत्रमा विहान १० बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न छुट दिइएको थियो ।