नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिए पनि सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री निवास बालुवाटारमै बसेको हो ।तीन दिनअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेस गरेपछि पहिलो पटक आज बैठक बस्न लागेको हो ।
२८ कात्तिकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेस गरेका थिए । सो प्रतिवेदनमा ओलीको कार्यशैलीमाथि कडा टिप्पणी गरिएका कारण त्यसको प्रतिवादमा अध्यक्ष ओलीले १३ मंसिरमा ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका हुन् ।
आज ती दुवै प्रतिवेदनमाथि छलफल हुनेछ । साथै, अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले ओलीको प्रतिवेदनको जवाफमा अर्को प्रतिवेदन पेश गर्ने बताइएको छ । ओलीले पार्टी एकताभन्दा पहिलाका घटना र सन्दर्भ निकालेर अध्यक्ष प्रचण्डमाथि प्रश्न उठाएपछि त्यसको जवाफ दिने निष्र्कषमा प्रचण्ड(माधव नेपाल समूह पुगेको हो । र, यो समूह ती सबै प्रतिवेदन र अध्यक्षद्धय प्रचण्ड र ओलीबीच आदानप्रदान भएका पत्रहरूसमेत स्थायी समितिको बैठकमा छलफल गर्न लैजानुपर्ने पक्षमा छन् ।
आजको सचिवालय बैठकले १८ मंसिरबाट बस्ने स्थायी समितिका लागि बैठकको एजेण्डा तय गर्ने सम्भावना रहेको बताइएको छ ।