शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेस गरेका छन् । उनले आफ्नो जवाफ पढेर सुनाएका थिए ।
प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयको गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको खण्डन गर्दै आफ्नो लिखित जवाफ पेस गरेक हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको १९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीलाई गम्भीर आत्मसमीक्षा र आत्मालोचन गर्दै पार्टी एकता र संविधान रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका थिए ।
यसअघि यही ३ मंसिरको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने बताएका थिए । सोही बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका आरोप खारेज गर्नुपर्ने समेत बताएका थिए ।
पछिल्ला समय नेकपामा मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडपका विषयलाई लिएर विवाद भइरहेको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे पनि नेकपामा विवाद उत्पन्न हुँदै आएको छ ।बैठक पुन मंसिर १६ गते बस्ने निर्णय भएको छ ।