कसले चुहायो होला त्यस्तो सूचना ?

कसले चुहायो होला त्यस्तो सूचना ?

‘नेपालका सञ्चारमाध्यमले हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको मेरो प्रवेशबारे विभिन्न रूप र शैलीमा समाचार प्रकाशन गरिरहेका छन् । यस सन्दर्भमा स्पष्ट जोड दिन चाहन्छु कि न मैले व्यक्तिगत रूपमा न त हाम्रो दूतावासले यस विषयमा कुनै पत्रकारसँग कुराकानी गरेको छ ।’ यो हो, जर्मनीका राजदूत उडो भोल्जले अघिल्लो सोमबार आफू प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेर ३ घण्टासम्म बन्धकजस्तै रहेको भनी प्रकाशित समाचारका सन्दर्भमा दिएको प्रतिक्रिया ।

सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत खुलेका उनको त्यो प्रतिक्रियाका सन्दर्भमा समाचारहरू त प्रशस्तै छापिए तर अन्तर्य कति डरलाग्दो छ भन्ने विषयमा चाहिँ खासै चर्चा भएको देखिँदैन । कूटनीतिक क्षेत्रका विज्ञहरूको अनुसार एक कुशल कूटनीतिज्ञले गरेको यो ट्वीट वास्तवमै कडा प्रतिक्रिया हो । यसमार्फत उनले प्रष्ट शब्दमा नेपालको प्रधानमन्त्री कार्यालयलाई ‘तिमीहरूले नै यस्तो सूचना चुहायौ भनी दोषारोपण गरेको देखिन्छ ।’ यस्तो निष्कर्ष निकाल्नुको आधार पेश गर्दै ती कूटनीतिज्ञले भने, ‘यसको अर्थ के हुन्छ भने प्रधानमन्त्री कार्यालयले मलाई अपमान त गर्‍यो नै त्योभन्दा बढी बेइमानी यसरी अपमान गरेको कुरा छरपष्ट पारेर गर्‍यो ।

’ एक जना पूर्व कूटनीतिज्ञले अझ प्रष्ट शब्दमा भने, ‘नेपालको प्रधानमन्त्री कार्यालयजस्तो अविश्वसनीय संस्था सायद अर्को छैन भन्ने मूल मर्म यो ट्वीटको हो । यसले के देखाउँछ भने युरोपियन दूतावासहरू यस प्रकारको अशोभनीय हर्कतबाट रुष्ट बनेका छन् । राजदूतलाई बोलाएर अपमान गरी बहादुरी देखायौँ भन्नु आफँैमा ठूलो भूल त हुँदै हो त्यसमाथि यस्ता कुरा चुहाएर कुनै पनि मुलुकको बेइज्जत गर्नुलाई किमार्थ सही मान्न सकिँदैन । नेपालको प्रधानमन्त्री कार्यालयले त्यसो ग¥यो भन्नेबारे सबैलाई जानकारी दिनु नै राजदूतको ट्वीटको एक मात्र सन्देश हो ।’ 

ट्वीटमा राजदूतले आफू प्रधानमन्त्री कार्यालय गएको होइन भनेका छैनन् । आएको समाचार गलत हो भन्ने दावी पनि छैन । यसको अर्थ यही हुन्छ कि उनले अप्रत्यक्ष रुपमा मिडियामा जे कुरा आयो त्यो सही हो भनेर स्विकारेका छन् । उनले आफ्ना तर्फका कुनै पनि पत्रकार या सञ्चारमाध्यमलाई यस प्रकारको सूचना दिएको वा लेख्न लगाएको होइन मात्रै भनेका छन् ।

यसबारे एक जना पूर्वराजदूत भन्छन्, ‘नेपालको प्रधानमन्त्री कार्यालय विदेशी राजदूतलाई हप्कीदप्की गर्ने काममा लागेको छ र त्योभन्दा गलत काम त्यसरी आफूले हप्काएको सूचना सञ्चार माध्यमलाई दिएर गरिरहेको छ ।’ उनले यो घटनालाई केही समयअघि अमेरिकी राष्ट्रपतिले ओभल हलमा युक्रेनी राष्ट्रपतिलाई गरेको अपमानसँग तुलना गरेका छन् । उनका अनुसार त्यसरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ट्रम्पले अपमान गरेपछि कुनै पनि युरोपेली राष्ट्रपति अमेरिकी निम्तामा जान मानिरहेका छैनन् । दक्षिण अफ्रिकी राष्ट्रपतिलाई पनि यसरी गरिएको अपमान र बेइज्जतीसम्बन्धी सूचना अमेरिकी राष्ट्रपतिले नै सार्वजनिक गराएका थिए । त्यसैको प्रतिक्रियास्वरूप नाटोनिकट राष्ट्रहरू इरानसँगको युद्धमा अमेरिकालाई साथ दिन तयार भएनन् । 

विशेषकहरू भन्छन्– जर्मन राजदूतले घुमाउरो भाषामा भनेका छन्– मौका परेका बेला म पनि यसको उचित जवाफ दिनेछु । 

(जनआस्था साप्ताहिकको असार १० गते बुधबारको अंकमा प्रकाशित)

सिफारिस

प्रतिकृया दिनुहोस्