सम्झना कार्की
यद्यपि केही महिलाहरु अशिक्षित छन् । तर उनीहरुको हातमा भने सीप छ । यही सीपले उनीहरुको जीवनयापन सहज भएको छ ।
वैशाख ५, सिन्धुपाल्चोक । खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने महिलाहरू आय आर्जनमा पनि जोडिन थालेका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका महिलाहरु आयआर्जन मार्फत आत्मनिर्भर बन्न लागेका हुन् ।
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ का झन्डै २० घरपरिवारका महिलाहरु अचेल राडिपाखी ,गलैचा बुन्दै गुजारा चलाउदै आएका छन् । राडीपाखी बुनेरै दुई चार पैसा हातमा पर्न थालेपछि वडा नम्बर ७ कि बुद्धिमाया गुरुङ दंग छिन् ।
श्रीमानकै भरमा मात्र घर व्यबहार चलाउदै आएकी उनी आफूले पनि केही गर्नुपर्छ भन्ने लागेर नै गलैंचा बुनाइ सम्बन्धी सीप हासिल गरेकी बताइन् । सिकेको सीपको अधिकतम् प्रयोग गर्दै गाउँमै स्वरोजगार बनेकी उनी राडिपाखी बुनेर पनि गुजारा चलाउन सक्दा खुशी छन् । अहिले त श्रीमानको भर पर्नु परेको छैन, केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ – उनले भनिन् । हुन पनि उनी बिहानदेखि बेलुकासम्म राडीपाखी बुन्ने काममा नै व्यस्त हुन्छिन् र एउटै राडिपाखीको २० हजारसम्म कमाउने गर्छिन् । फेरि पनि बजारको अलि समस्या भएको गुरुङको अनुभव छ । त्यसो त गाउँपालिकाले समस्या समाधान गर्नेमा पनि उनी विश्वस्त छिन् ।
बुद्धिमायाको मात्रै नभईै बिगत झण्डै १३ वर्षदेखि गलैचा बुनेकै भरमा सानुमाया श्रेष्ठको पनि गर्जो टर्दै आएको छ । सानो छँदा आमाहरुले बुनेको हेरेर नै गलैचा बुन्न सिकेकी उनले परिवारसँग बसेर, घर परिवारलाई समय दिएर पनि महिनामा ७ हजार सजिलै कमाउने गरेकी छिन् ।
परम्परागत सीपहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गरि बजार व्यावस्थापनमा सम्बन्धित निकायहरुले ध्यान पुर्याउन सकेमा परम्परागत सीप र उत्पादनहरु लोप हुनबाट पनि जोगिने देखिन्छ ।
“आफ्नै सुरमा काम गर्न पाउँछु, यसलाई नै आफ्नो व्यवसायको रुपमा अंगालेको छु” श्रेष्ठले भनिन् -” सानोतिनो खर्चका लागि ऋण काट्नु परेको छैन “। पराश्रति भएपछि हिंसा भोग्न वाध्य हुने भएकाले पनि गाउँमा अरु दिदिबहिनीहरुलाई पनि उनले जिविकोपार्जनमा लाग्न प्रेरित गर्दै आएकी छन् । घरैमा बसेर, खाली समयमा गलैचा,राडिपाखी बुनेर राम्रो आम्दानी हुनेभएछि यहाँका महिलाहरु अहिले राडीपाखी बुनाईप्रती आकर्षित भएका छन् भने कमाइ हुन थालेपछि आफ्नो आवश्यकता पुरा गर्न कसैको अगाडि हात थाप्नु परेका छैनन् । यद्यपि केही महिलाहरु अशिक्षित छन् । तर उनीहरुको हातमा भने सीप छ । यही सीपले उनीहरुको जीवनयापन सहज भएको छ ।
अधिकाशं महिलाहरुले अरुले बुनेको हेरेर नै गलैचा बुन्न सिकेका हुन् । यो सीपले आत्मनिर्भर हुन सकिन्छ भन्ने सोच उनीहरुमा छ । र आफ्नै पौरखमा आत्मनिर्भर बन्दै छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले समृद्ध पाँचपोखरी निर्माणका लागि पर्यटन , कृषि संगै स्थानीय उत्पादन र सीपलाई विशेष जोड दिएको छ ।
युवा, महिला, पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न सिपमुलक कार्यहरु गर्दै आफ्नै ठाँउमा भएका सीप क्षमतालाई प्रयोग गरि रोजगार सिर्जनाका प्रयासहरु गरेको छ । युवाहरुलाई उद्यमी, व्यवसाय बनाउन विभिन्न तालिम र अनुदान उपलब्ध गराउँदै आईरहेको छ । भौगोलिक रुपमा विविधता, विभिन्न जातजाति संस्कृति रहेको यस ठाँउमा विभिन्न पराम्परागत सीपहरु पनि रहेका छन् । पिछडिएको क्षेत्र, समुदायका महिलाहरुलाई राडि बुन्ने, गलैचा बुन्ने ,डोका बुन्ने जस्ता सिपमुलक तालिम दिएको छ ।
परम्परागत सीपहरुको महिलाहरुले संरक्षण गदै
परम्परागत स्थानीय सीपहरु अझै पनि पाँचपोखरी थाङपाल गाउपालिकाका महिलाहरुले संरक्षण गरेको पाईन्छ । सीप विकास र क्षमता अभिवृद्धि गरेरै उद्यमी बन्न प्रेरित गर्न सकिन्छ भन्ने यस ठाँउका महिलाहरुले पुष्टि गरेका छन् । पछिल्लो समय युवा पुस्ताले वास्ता नगर्दा र सम्वन्धित निकायहरुले व्यसायिक रुपमा विस्तार गर्न नसक्दा परम्परागत सीप र उत्पादनहरु लोप हुने अवस्था भने पक्कै सिर्जना नहोला भन्न सकिन्न ।
पाँचपोखरी थाङ्पाल गाँउपालिका लघु उद्यम विकास शाखाका प्रमुख दिपेन्द्र पौड्यालका अनुसार गाँउपालिकाले गरिवी निबारणका लागि उद्यम विकास शाखा अन्तर्गत विभिन्न चरणका कार्यक्रम गर्दै आएको छ । पिछडिएको क्षेत्र, पिछडिएको वर्गको पहिचान गरि अभिमुखीकरण कार्यक्रम गरि विभिन्न सिपमुलक तालिमहरु समेत दिईरहेको छ ।
आ.व.२०८०/८१ मा संघीय सशर्त अनुदानमा १३ लाख र गाउँपालिकाबाट १९ लाख गरी जम्मा ३० लाख बजेट छुट्याएको छ । सिङ्गो पालिकालाई समृद्ध बनाउनका लागि स्थानीय स्रोत साधन, सीपको विकास र जनशक्तिको उचित व्यवस्थापन गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।
परम्परागत सीपहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गरि बजार व्यावस्थापनमा सम्बन्धित निकायहरुले ध्यान पुर्याउन सकेमा परम्परागत सीप र उत्पादनहरु लोप हुनबाट पनि जोगिने देखिन्छ ।